आइतबार सुदूरपश्चिम बन्दको घोषणा
काठमाडौं,जेठ २६ । सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आमहड्तालको घोषणा गरेको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ र संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए।
उनले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको समेत बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रिपरिषदबाट निर्णय गरेर नीति तथा कार्यक्रमबाट पारित गरेको विश्वविद्यालय हटाएर एक सय शैयाको मात्रै अस्पताल सञ्चालन गरेर प्रतिष्ठान बनाउने बजेट भाषणमा उल्लेख गरेसँगै आन्दोलन सुरु भएको हो ।


