तराई-मधेशमा गर्मीले उकुसमुकुस: अझैं केहीदिन पानी नपर्ने, लू चल्दा घरभित्रै बस्न सुझाव



काठमाडौं,जेठ २६ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो एक सातादेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ ।

तराईका धेरै जिल्लामा एक सातायता तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ, जसले गर्दा तातो हावा ‘लू’ चल्न थालेपछि तराईका जिल्लाको जनजीवन उकुसमुकुसपूर्ण बनेको हो । लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापक्रम पुगेमा लू चल्ने गर्छ ।

हिजो धनगढीमा ४०.५, नेपालगन्जमा ४१.८, भैरवामा ४२.५, विराटनगरमा ४२.६, जनकपुरमा ४२.४ पश्चिम नवलपरासीमा ४०, कपिलवस्तुमा ४०, र बर्दियामा ४० डिग्रीसम्म तापक्रम पुगेको थियो भने आज पनि तापक्रम ४० डिग्रीभन्दा माथि नै रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेको र पश्चिमी वायु पनि कमजोर रहेकाले तराई मधेसमा अझै दुई/तिन दिन मौसम यस्तै रहने छ । पूर्वी तराईका भू—भागहरूमा भने मौसम बदली रही एक÷दुई डिग्री तापक्रम घट्ने सम्भावना रहेको अधिकारीकोको भनाई छ ।

तातो हावा लू का कारण तराई मधेसका धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, बान्ता हुने,  ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।  अत्यधिक गर्मीले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ, जुन अति नै जोखिमयुक्त हुन्छ । यस्तो बेलामा बेहोस भएर मृत्यु नै हुन सक्छ ।  सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अत्यधिक गर्मी बढ्दा संक्रामक रोगहरू निम्तने चिन्ता व्यक्त गर्दै विशेष गरेर ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई तातो हावामा बाहिर ननिस्कन सुझाउछन ।

प्रतिक्रिया दिनुहोस्