चितवनका व्यवसायीले मागे घरभाडामा २० प्रतिशत छूट, नदिने अडानमा घरधनी



चितवन,जेठ २८ । आर्थिक मन्दीका कारण चितवनका व्यवसायीहरूलाई पछिल्लो समय घरभाडा समेत तिर्न धौधौ परेको छ । 

आर्थिक मन्दीले बैंकको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको उनीहरूको गुनासो छ । विशेषगरी चितवनको मुख्य बजार क्षेत्र नारायणगढका व्यवसायीहरू थप मर्कामा परेका छन् । लामो समयदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ सडक विस्तारका कारण पनि व्यवसायमा धक्का परेको उनीहरूको भनाइ छ । 

उनीहरूले शुक्रवार नारायणगढमा पत्रकार सम्मेलन गरी नारायणगढ बजार क्षेत्रका व्यापारीले मुख्य राजमार्ग क्षेत्रका सटरहरूमा पूरै र अन्य क्षेत्रका व्यापारीका लागि २० प्रतिशत भाडा घटाइदिन घरधनीसँग माग गरेका हुन्  । व्यवसायीले आफूले बुझाउँदै आएको भाडामा २० प्रतिशत रकम घटाएर बुझाउन आग्रह गरेको छ । 

नेपाल घरबहाल उपभोक्ता मञ्च, चितवनको नेतृत्वमा चितवनका अधिकांश व्यावसायिक संघसंस्थाले पुलचोक–गोन्द्राङ सडकखण्डमा पर्ने व्यापारीका लागि पूर्ण छूट गराइदिन माग गरेका हुन् । आर्थिक मन्दीको असर रहुञ्जेल र व्यवसाय पूर्ववत् अवस्थामा नफर्किएसम्म घटाइएको भाडा नबढाउन मञ्चले माग गरेको छ ।

पुलचोक–गोन्द्राङ सडकमा पर्ने व्यावसायिक सटरहरूको हकमा भने राम्रोसँग सञ्चालन नभएसम्मका लागि पूर्ण छूट गराइदिन माग गरिएको मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले बताए । त्यसबाहेक हालसम्म व्यापारीले नै बुझाउँदै आएको घरबहाल कर पनि स्वयम् घरधनीलाई तिराइदिन माग गरिएको अध्यक्ष पराजुलीले बताए । ‘घरबहाल कर स्वयम् घरधनीले नै तिर्नुपर्ने वातावरणका लागि स्थानीय तहले पहल गरिदिन हाम्रो माग हो,’ उनले भने । 

चर्को घरभाडा, बैंकको व्याजदर पनि उस्तै चर्को र राज्यले प्राप्त गर्ने व्यवसाय करका कारण सबै खालका व्यवसायी पलायन हुने अवस्थामा आइपुगेको भन्दै व्यवसायीलाई जोगाउनका लागि राज्यको नियमनकारी निकायबाट पनि विशेष पहल हुनुपर्ने मञ्चको भनाइ  छ । ‘अहिलेको अवस्थामा सामान्यरूपमा दैनिक खर्च धान्न पनि मुस्किल परेको छ,’ मञ्चका अध्यक्ष पराजुलीले भने, ‘यस्तो अवस्थामा राज्यको नियमनकारी निकायले ध्यान नदिने हो भने आगामी दिनमा राज्यले उठाउने कर प्रतिकूल बन्न पनि सक्छ ।’

प्रतिक्रिया दिनुहोस्