गर्मीले जनजीवन अस्तव्यस्त : सुक्न थाले पानीका स्रोत, वीरगञ्जका विद्यालयमा लम्बियो बिदा
वीरगञ्ज,जेठ २८ । बढ्दो गर्मीका कारण तराई/मधेसको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । चर्को घामले दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
चर्को घामका कारण खेतीपाती, मजदूरी गर्नेहरूलाई समस्या भएको छ । दिउँसो अत्यधिक गर्मी हुने भएपछि बिहान र बेलुका काम गर्ने गरिएको छ । धाम र तातो हावाका कारण कतिपय काममा जान सकेका छैनन् ।
पानीका स्रोतहरू सुक्ने क्रम बढेको छ । पानी नभएपछि खेतमा लगाइएको बाली सुक्न थालेको किसानहरूले बताएका छन् । किसानले बर्खे धानको बीउसमेत राख्न पाएका छैनन् ।
वीरगञ्ज क्षेत्रका अधिकांश क्षेत्रका धाराहरू सुक्दा खानेपानीको समस्या भएको छ । चापाकलमा पानी आउन छोडेको र खानेपानीको समस्या भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।
वीरगञ्ज महानगरले ४ हजार खानेपानीका धारा जडान गरिदिने घोषणा गरेको छ । महानगरले यस्तो धारा जडानका लागि स्थानीयसँग आवेदन मागेको नगर प्रमुखका प्रेस सल्लाहकार महेश दासले बताएका छन् ।
महानगरले खानेपानी संस्थानसँगको सहकार्यमा निःशुुल्क धारा जडान गरिदिने भएको हो । बढ्दो गर्मीका कारण वीरगञ्जका विद्यालयहरूमा गर्मी बिदा दिइएको छ ।
महानगरले आउँदो असार १ गतेसम्मका लागि यस्तो बिदा लम्ब्याएको छ । यसअघि जेठ १७ देखि २६ गतेसम्म बिदा दिइएकोमा गर्मी झन् बढ्दै गएकाले लम्ब्याउनु परेको महानगर शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए ।

