फेसबुकमा ‘घरजग्गा लोन सेवा’ पेज बनाई ठगी गर्नेहरू पक्राउ



काठमाडौं,जेठ २८ । फेसबुकमा घर जग्गा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई र आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसे पक्राउ परेका हुन् । 

उनीहरूले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई ठगी गरेका हुन् ।

अर्काको नामको नागरिकता दुरुपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्