सरकारलाई कुनै रकम तिर्न बाँकी छैन : एनसेल



काठमाडौं,जेठ ३० । एनसेल आजियाटा लिमिटेड (एनसेल)ले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)को मध्यस्थतामा हालै भएको निर्णयको सम्मान गर्ने प्रतिक्रिया दिएको छ । यससँगै नेपालमा आफूले कुनै पनि कर तिर्न बाँकी नरहेको कम्पनीले बताएको छ ।

पूँजीगत लाभकरको सम्बन्धमा चित्त नबुझेपछि एनसेलले आईसीएसआईडीमा दायर गरेको निवेदनमा गत शुक्रवार नेपाल सरकारको पक्षमा फैसला भएको थियो । एनसेलले आफ्नो शेयर विक्रीमा लाभकर नतिरेको भन्दै सर्वोच्च अदालतले तिर्नुपर्ने फैसला गरेपछि सरकारले कर निर्धारण गरेको थियो । आजियाटा ग्रुपले २०७६ वैशाखमा अन्तरराष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय आईसीएसआईडीमा विवाद निरूपणका लागि निवेदन दिएको थियो ।

‘मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेका कारण आजियाटा यूके र एनसेललाई करीब १४ लाख अमेरिकी डलर भुक्तानी गर्न पनि नेपाल सरकारलाई आदेश दिइएको छ,’ एनसेलले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले सरकारलाई कुनै रकम तिर्न बाँकी छैन ।’ न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरीवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको भनाइ छ ।

आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले गत शुक्रवार आजियाटा यूके र एनसेलले गरेको दाबी खारेजीको निर्णय दिएको थियो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपाल सरकारले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरीवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस्