ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
दैलेख,जेठ ३२ । दैलेखको दुल्लुमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् ।
ट्याक्टर सवारमा दुर्घटना परेका घाइतेहरुको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । सख्त घाइते तीन जनामध्ये एकजनाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलखका प्रमुख किशोर लम्सालले जानकारी दिए । दुर्घटनामा दुल्लु नगरपालिका १ की १९ वर्षीया डिलमाया खड्काको मृत्यु भएको हो । घाइते दुईजनाको प्रदेश अस्पताल कालागाउँमै उपचार भइरहेको छ ।
घाइते हुनेमा दुल्लु नगरपालिका १ का १८ वर्षीया जानुकुमारी खड्का र दुल्लु नगरपालिका ५ का १९ वर्षीय भरत शर्मा छन् । तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका १, गाडापानीमा दुर्घटना भएको हो । ट्याक्टर सडकदेखि करिब २०० मिटर तल पुगेको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

