वडाध्यक्षको नाकको डाँडी भाँच्ने युवक पक्राउ



झापा,असार १ । झापा कचनकवल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवक पक्राउ परेका छन् ।

युवालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ। नाक भाच्ने युवक मेचीनगर वडा नम्बर ६ का विजय पनेरू रहेका छन् ।

पनेरुले बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिएका थिए । बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाँडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्य रूपमा ठोक्किएपछि रिसको झोकमा पनेरुले हेलमेटले वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको पाइएको प्रहरीको भनाई छ ।

प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेको प्रत्यक्षहरूले बताएको प्रहरीको भनाई छ । अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्