रानी जमरा सिँचाइ आयोजना : १३ वर्षमा ६० % मात्रै निर्माण
टीकापुर,असार २ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशतमात्र निर्माण सकिएको छ । आयोजना निर्माण शुरु भएको १३ वर्षमा ६० प्रतिशत मात्र निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६७/६८ बाट निर्माण कार्य थालेको आयोजनाले २०८०/८१ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म ६० प्रतिशत काममात्र सकिएको जनाएको छ ।
आयोजनाको गुरुयोजनाअनुसार रु २७ अर्ब ७५ करोड लागत रहेकामा अहिलेसम्म रु १८ अर्ब खर्च भएको छ । त्यसबाहेकका रकम खर्च हुन बाँकी रहेको र काम सम्पन्न गर्न तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको आयोजना प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए । ‘तोकिएकै समयमा काम सम्पन्न हुने देखिएको छैन,’ उनले भने, ‘आयोजनाका पहिलो चरणका सबै कामहरू सम्पन्न भइसकेका छन् । अहिले दोस्रो चरणका कामहरू धमाधम भइरहेका छन् ।’
आयोजना प्रमुख श्रेष्ठका अनुसार दोस्रो चरणअन्तर्गत प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पथरैया नदीका तीन स्थानमा पुल निर्माणका कामहरू भइरहेका छन् ।
‘आयोजनाले जेठ ३१ गतेदेखि रानी जमरा, कुलरिया तिरका नहरमा पानी सञ्चालन गरेको छ,’ उनले भने, ‘पहिले वैशाख २५ गतेदेखि पानी सञ्चालन गरिए पनि नहरको बीचमा बनिरहेको विद्युत् गृहको केही काम गर्नुपर्ने भएकाले करिब एक साता नहरमा पानी बन्द गरिएको थियो ।’
अहिले जेठ ३१ गतेदेखि रानी, जमरा र कुलरिया नहरमा करिब ४५ क्युमेक्स पानी सञ्चालन गरिएको र लम्की तिरको नहरमा पनि असार पहिलो साता पानी सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताए ।
आयोजनाअन्तर्गत ४.७ मेगावाट क्षमताको विद्युत् पनि उत्पादन हुने तयारीमा रहेको छ । ‘निर्माणाधीन विद्युत् उत्पादनको काम पनि यसै आर्थिक वर्षभित्र सक्ने आयोजनाको लक्ष्य छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘यसै आर्थिक वर्षको असोज–कात्तिकमा आएको बाढीका कारण आयोजनाका विभिन्न क्षेत्रका क्षति पुगाएकाले केही काममा ढिलाइ भएको हो ।’
यस वर्ष पनि कर्णाली नदी किनारमा जथाभावी उत्खनन भइरहेकाले त्यो समस्या दोहोरिने सम्भावना देखिएकाले यस विषयमा यहाँका नागरिकदेखि सरोकारवाला निकाय सजग हुनुपर्ने आयोजना प्रमुख श्रेष्ठको सुझाव छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानीमूल कुलाका १४ प्रशाखा कुला जमरा मुल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला छन् । ती मूल कुलाका शाखामार्फत बनेका आठ सय ६३ उपशाखा कुला छन् । यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका ११ हजार हेक्टर खेतसम्म पानी लैजाने कार्य हुन्छ ।

