हुलाकी सडक : साढे २ वर्षमा सकिनुपर्ने निर्माण साढे ६ वर्षसम्म पनि अधुरै



कञ्चनपुर,असार २ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम साढे दुई वर्षमा सकिनुपर्नेमा साढे ६ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट वेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण शुरु भएको थियो । निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण (प्याकेज)को काम अझै सकिएको छैन ।

हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ,’ उनले भने, ‘बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको छ ।’

इन्जिनियर सुनारले कार्यालयबाट दोस्रो प्याकेजको ठेक्का बदर गर्ने चरणमा पुगिसकेको बताए । ‘उक्त प्याकेजको लागत रू ४१ करोड ४१ लाख छ, उनले भने, ‘त्यसमा ५० प्रतिशत मात्रै काम निर्माण कम्पनी बाबा हंस–सिद्धीसाई जेभीले गरेको छ ।’ उनले पाँचौंपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको बताए ।  

‘दोस्रो र तेस्रो प्याकेजको अवधि अब एक महीनामात्रै बाँकी छ,’ सुनारले भने, ‘लगातार ताकेता गर्दैछौं । समयमा निर्माण सम्पन्न नगरे बदरको प्रक्रियामा जाने चेतावनीसमेत दिइसकेका छौं ।’

हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । पहिलो प्याकेजअन्तर्गत डोकेबजारबाट बेलौरीसम्मको २० किलोमिटर सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभी कम्पनीले रू ३६ करोड ४७ लाखमा सम्झौता गरेको थियो ।

दोस्रो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ । त्यस्तै, हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमध्ये नौ किलोमिटर मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले जानकारी दिए । ‘निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो,’ उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्