२४ वर्षपछि छोरो घर फर्किंदाको खुसी
बागलुङ,असार ५ । बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आश मारिसकेका थिए । तर छोरा घर फर्केपछि उनले हर्षका आँसु झारे ।
“मैले त कान्छो छोराको आश मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो, त्यसपछि अत्तोपत्तो भएन”, आमा रेग्मीले भावविह्वल हुँदै भनिन् – “छोरा २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।”
विसं २०५६ माघमा घर छोडेर गएका चन्द्रदत्त रेग्मी घर फर्किएका छन् । रोजगारीका लागि बेलायत गएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौँबाट उद्धार गरी ल्याइएको हो ।
बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा नआएका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ ।
बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त बेलायतमा धनसम्पत्ति जोडेर नेपाल आउन चाहे पनि बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पिआर) नपाएपछपरिवारको सम्पर्कमा नआएका हुन् ।
चन्द्रदत्त घर फर्किएसँगै ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीको खुसीको सीमा रहेन । घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँसु बर्सिएका छन् ।
बेलायमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौँतारिएका थिए ।
बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै रेग्मी नेपाल आएको भए पनि धन कमाउन नसकेको भन्दै विभिन्न जिल्लामा काम गरेर बसेको पाइएको र २४ वर्षपछि मात्रै सम्पर्कमा आएको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।
“विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोचपछि काठमाडौँसँगै हेटौँडा, सल्यान, प्यूठानलगायतका विभिन्न ठाउँमा काम गर्दै आएका रैछन”, वडाअध्यक्ष पौडेलले भने, “काठमाडौँ अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौँडाको थाहा नगरपालिका–१ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनलाई परिवारको सम्पर्कमा ल्याइएको हो ।”
चन्द्रदत्तका दाजु लेखनाथ शर्माले सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए ।
वडाअध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौँबाट घरमा ल्याएका हुन् ।
“हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशा मात्रै थियो तर अहिले घर फर्कंदा खुसी लागेको छ”, दाजु लेखनाथ शर्माले भने, “धेरै ठाउँमा भाइको विषयमा सोधखोज गरेका थियौँ, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौँ, आफूले बिदाइ गरेर विदेश पठाएको भाइ नफर्किंदा यही कुराले पिरोलेको थियो, भाइ फर्किएर आयो हाम्रो परिवारमा ठूलो खुसी छाएको छ ।”

