संसदीय समितिमा किन कड्किए हमाल ? रुखो रुझानले दिएको ‘मीठो फल’



काठमाडौं,असार ६ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई मंगलबार व्यवस्थापिका संदको अर्थ समितिले छलफलका लागि डाकेको थियो । नयाँ कम्पनीहरुलाई सेयर दलाल (ब्रोकर)को लाइसेन्स दिने प्रक्रियामाथि छलफल गर्न संसदीय समितिले विहानै बोलाएपछि हमाल घरबाट निस्कने बेला उनकी श्रीमतीले भनेकी थिइन्, ‘तपाइँको बोलि रुखो छ, अलि संहालिएर बोल्नु होला ।’

संसदीय समितिमा सांसदहरुका अनेक सवालमाथि जफाव दिँदै गर्दा उनी सम्हालिन खोजेका थिए । तर अन्तिम समयमा उनले सांसदहरुलाई ‘सवक’ सिकाउने गरी प्रस्तुती दिए । आफूले कुनै ब्यापारीसँग बसेर चियासमेत नखाएको भन्दै उनले भने, ‘म आफैं जागिर दिने मान्छे हुँ, म यहाँ जागिर खान आएको होइन ।’

केही सांसदले पुराना ब्रोकरबाट गैरकानूनी लाभ लिएर नयाँ लाइसेन्स प्रक्रियामा भाँजो हालेको खबरहरु बाहिरिएका बेला हमाल अर्थ समिति पुगेका थिए । त्यहाँ सांसदहरुका कयौं असान्दर्भिक प्रश्नमाथि उनी खनिए । ‘मैले संसारका १७ वटा देशमा निजी क्षेत्र र अन्तरराष्ट्रिय संघसंस्थामा समेत रहेर काम गरेको छु’, उनले भने, ‘तर नेपालमा जस्तो काम गर्न असहज अवस्था संसारमा कुनै पनि देशमा छैन ।’

उनले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सांसदहरुको कच्चा प्रतिक्रियामाथि प्रश्न गरे । केही पनि विषय अध्ययन नगर्ने, हल्लैहल्लामा चल्ने र स्वार्थी समूहहरुको वेतन खाएर नीति निर्माणमा हस्तक्षेप गर्ने सांसदहरुको आम व्यवहारमाथि उनले खुलेरै आलोचनामात्र गरेनन्, प्रश्न समेत गरे । संस्थागत निर्णय प्रक्रिया कसरी हुन्छ र त्यसको उत्तरदायि को हुन्छ भन्ने बारेमा उनले सांसदहरुलाई कानून पनि पढाउन भ्याए ।

नेपालले तीन दशकभन्दा लामो समयदेखि अवलम्वन गरेको खुला र उदार अर्थ व्यवस्थाको सन्दर्भ जोडेर उनले प्रतिस्पर्धाको महत्व सम्झाउने कोसिस गरे । बजारलाई सीमित व्यक्तिहरुको चंगुलबाट बाहिर ल्याउनु पर्ने दलिल उनले संसदीय समितिमा प्रस्तुत गरे । उनको यस्तो आक्रामक प्रस्तुतीले अधिकांश सांसदको मुख थुनियो । बेलाबेला त लाग्थ्यो, ‘उनी कुनै कलेजको कक्षाकोठामा विद्यार्थीलाई प्रवचन दिँदै छन् ।’

लेखा र अर्थ समितिलाई संसदभित्र पनि बढी सम्मानित थलो ठानिन्छ । देशका आम नागरिकको आर्थिक हित रक्षा गर्ने र सरकारलाई वित्तीय अनुशासनमा राख्न दवाव सिर्जना गर्ने यी समितिहरुमा तुलनात्मक रुपमा दिग्गज सांसदहरु सहभागि हुन्छन् । हमालले तिनै सांसदहरुलाई प्रणाली, प्रक्रिया र आर्थिक उदारिकरण एवम् बजार प्रतिस्पर्धाका सिद्धान्त पढाए ।

हावादारी र हल्लाखल्लामा रुमल्लिएर केवल चरित्रमाथि प्रहार गर्ने खालका व्यक्तिगत प्रश्न तेर्साउने अधिकांश सांसदहरु हमालसामु रनभुल्ल परे । अन्त्यमा उनीहरुले गत हप्तामात्रै रोक लगाएको ‘नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया’ पुनः अघि बढाउन सेबोनलाई निर्देशन दिने निर्णय गरे ।

यसरी ५० वटा ब्रोकरले मिलिजुली सेयर बजारको दलालीबाट हुने लाभमाथिको कार्टेलिङलाई करीब डेढ दशकदेखि तोड्ने बाटो खुलेको छ । अब अहिले नै लाइसेन्स दिइसकेका १८ वटा कम्पनीमात्रै होइन, आशयपत्र प्राप्त गरेका अरु २५ वटा कम्पनी पनि बजारमा आउने भएका छन् । यसबाट ब्रोकरहरुबीच नयाँ सेवासुविधा दिने र लगानीकर्तालाई सहजिकरण गर्ने प्रतिस्पर्धा सुरु हुने छ ।

हमाल भन्छन्, ‘रुखो र ठाडो प्रस्तुती मेरो मौलिक पन हो । यसलाई म त्याग्न सक्दिन । मैले आफ्नो शैली त्यागेर नक्कली शालिनता देखाउन खोजेँ भने म प्रष्टसँग आफ्नो कुरा राख्नै सक्तिन ।’

प्रतिक्रिया दिनुहोस्