बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
ढोरपाटन,असार ६ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताए । जीपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

