गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत
तनहुँ, असार ८ । गोरखामा जन्ती बस दुर्घटनमा मृत्यु हुने पाँच जनाकै सनाखत भएको छ । मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
मृत्यु हुनेमा शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र वर्षीय ६४ का धनबहादुर थापा रहेको प्रनाउ लामिछानेले जानकारी दिए ।
गए राती दुई बजे शहिद लखन-३ पात्ले खोलामा भएको दुर्घटनामा परी घटनास्थलमा नै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शहिद लखन-३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो।
भिरालो धेरै भएकोले उद्धारमा कठिनाई भईरहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्वार गरेको प्रनाउ लामिछानेले जानकारी दिए । जिप कच्ची सडकबाट दुई सय ५० मिटर तल खसेको छ । प्रनाउन लामिछानेले भने, “शव यत्रतत्र छरिएकाले उद्वारमा कठिनाई भएको छ ।” दुर्घटनामा परी अन्य १२ जना घाईते भएका छन् । घाईतेमध्ये नौं जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भईरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ ।”

