समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री दाहाल



काठमाडौं,असार ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घकोे २० औं वार्षिक साधारणसभालाई शुक्रबार सम्वोधन गर्दै उनले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धि हासिल भएको बताए । 

प्रधानमन्त्री दाहालले सम्पन्न भएका पूर्वाधारको पूर्ण उपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्नेतर्फ सरकारले एकपछि अर्को सुधारकार्य अघि बढाइरहेको छ भने निजी क्षेत्रले पनि लगानी बढाउने र वैदेशिक लगानी आमन्त्रण गर्ने दिशामा नतिजा देखिने गरी काम गर्ने विश्वास छ, अर्थतन्त्र सुधारका लागि परिसङ्घजस्ता संस्थासँग सहकार्य गरेर नै अगाडि बढ्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।’ 

परिसङ्घले दिएको अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावलाई सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा राख्ने प्रयास गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उद्योग परिसङ्घले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा चितवनको शक्तिखोर औद्योगिक क्षेत्र वा मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सरकार समक्ष आशय पेश गरेको बताउँदै उहाँले पीपीपी मोडलमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिनुपर्ने विषयमा सरकार स्पष्ट रहेको र बजेटमा समेत उल्लेख गरिएको बताए । त्यसलाई जति सक्दो छिटो कार्यान्वयनमा लैजान पहल गरिने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्