नुवाकोट लिखुका शिक्षक बाबुकाजी डङोलको बिदाई



नुवाकोट,असार ११ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्धीगणेश आधारभूत विद्यालयका शिक्षक बाबुकाजी डङोलको बिदाई गरिएको छ । सोमबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी शिक्षक डङोलको बिदाई गरेको हो ।

विक्रम संवत २०४६ साल पौष ७ गते विद्यालय प्रवेश गरेका  शिक्षक डङोलले आफ्नो जीवनको ३४ वर्ष सो विद्यालयमा अध्यापन गरेर बिताएका थिए । शिक्षणका सुरुवाती समयमा ६७५ मासिक तलब बुझेका डङोलले पैसा भन्दा सेवा ठुलो भन्दै विद्यालय प्रवेश गरेको स्मरण गरे । ‘मलाई त्यो समयमा १० कक्षा उतिर्ण लगत्तै शिक्षक बन्ने अफर आएको थियोे ।’ शिक्षक डङोलले भने -‘म भने प्रवेशिका परीक्षा उत्तीर्ण पश्चात् शिक्षण कर्ममा होमिए ।’

त्यसो त उनले प्रवेशिका परीक्षा बीचमा रसुवा र भद्रुटारको भेडाबारी माध्यमिक विद्यालयमा छोटो समय अध्यापन गरेका थिए । शालीन र भद्र स्वभावका शिक्षक डङोललाई स्मरण नगर्ने विद्यार्थी बिरलै रहेको अभिभावकहरु बताउँछन् । शिक्षक डङोलले आफुले शिक्षण गरेको विद्यार्थी हाल देशको उच्च पदमा रहेकाले आफुलाई यसप्रकारको कुरामै हर्ष अनुभूति हुने गरेको बताए ।

विद्यालय प्रवेशको सुरुमै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शिक्षक डङोलले २०६९ सालमा प्रधानाध्यापक पद छाडेका थिए । भद्र तथा अत्यन्तै अनुशासित शिक्षक डङोलले आफ्नो सोझोपन र विना राजनीतिका कारण विवादमा आफू कहिल्यै फस्न नपरेको बताए । बिदाई समारोहमा लिखु गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारीले शिक्षकमा अनुशासन र लगनशीलताले नै शिक्षकलाईअसल शिक्षक बन्न प्रेरित हुने बताइन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम डङोलले बाबुकाजी डङोलको अभाव विद्यालयलाई सधै हुने बताए । विद्यालयको शैक्षिक इतिहासमा ३४ वर्षको सेवा चानचुने कुरा नभई भावी पिढिले समेत शिक्षक डङोलबाट अनुसरण गर्नुपर्ने बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेलले जीवनमा बाबुकाजी जस्तो शिक्षक साथीको सधैव अभाव खट्किने बताए । कार्यक्रममा लिखु गाउँपालिका शिक्षा शाखाका प्रमुख साधुराम फुयाल, रुडेक नेपालका सहजकर्ता दुर्गा भेटुवाल, विद्यालयका अभिभावक, पुर्व विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्