ललिता निवास प्रकरण : एकै दिन ७ जना पक्राउ, भाटभटेनी सञ्चालकदेखि मालपोतका पूर्वप्रमुखसम्म फन्दामा !
काठमाडौं,असार १३ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा अनियमितताबारे फेरि अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा मंगलवार ७ जना पक्राउ परेका छन् ।
सीआईबी स्रोतका अनुसार उक्त प्रकरणमा अनुसन्धानका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय, डिल्लीबजारका पूर्वप्रमुख कलाधर देउजा, पूर्वखरिदार गोपाल कार्की पक्राउ परेका छन् ।
यस्तै, अनुसन्धानका लागि सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको स्रोतले जानकारी दिएको छ । कपाली, गौतम र केसी पनि कर्मचारी हुन् ।
उक्त प्रकरणमा डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण प्रहरीले रोकेको अनुसन्धान फेरि शुरु गरिएको हो । स्रोतका अनुसार घटनामा जोडिएका अरु व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ परेकाहरूलाई भोलि सार्वजनिक गरिने जानकारी दिए ।
ललिता निवासको जग्गा अनियमिततामा शुरुमा अख्तियारले अनुसन्धान थालेको थियो । उसले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

