भोको पेटमा बाँचीरहेका जनतालाई विकास र मानवअधिकारका गफ दिएर हुँदैन : अध्यक्ष ओली



काठमाडौं,असार १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै अर्थ नहुने बताएका छन् ।

मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू विगतमा प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको बताए । 

“नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखेका हौँ । हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौँ । समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौँ”,  अध्यक्ष ओलीले भने, “कहिलेकाँही मोर्चामा हार खान सकिन्छ तर आन्दोलनले हार्दैन र हामी अविचलितरुपमा समाजको रुपान्तणका लागि लागिरहनुपर्छ । जबजको मार्गदर्शन पनि यही हो ।”

नेपाल ज्ञानभूमि र तपोभूमि भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पुर्खाहरुको त्यो ज्ञान र योगदानको जगमा यस उर्बर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी कार्यक्रममा फाउण्डेशनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गरिनुका साथै विशेष जर्नलको लोकार्पण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्