झापामा डुबेर वालक र वृद्धको ज्यान गयो
दमक,असार ३१ । झापामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गौरादह नगरपालिका वडा नंं २ हाँस खोराका गोविन्द ताज पुरियाका १३ वर्षीय एन्जल ताजपुरियाको शनिवार अपराह्न डुबेर मृत्यु भएको हो । स्थानीय किस्ने खोलामा ४ जना साथीहरू मिलेर पौडी खेल्न गएका एन्जल डुबेपछि साथीहरूले परिवारलाई जानकारी गराएका थिए । स्थानीयले डुबेको केही बेरमा नै खोलाबाट निकाल्दा मृत्यु भइसकेको थियो ।
यसै गरी झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई खोलामा ९० वर्षीय वृद्धको डुबेर मृत्यु भएको छ । शनिवार साँझ खोलामा घोप्टो परेको अवस्थामा शिवसताक्षी नगरपालिका वडा नं. ८ का ९० वर्षीय टेकबहादुर श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

