मीटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं,साउन १ । प्रतिनिधिसभाबाट अनुचित लेनदन (मीटरब्याजसम्बन्धी) विधेयक आइतवार सर्वसम्मतले पारित भएको छ । मीटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा प्रतिनिधिसभाका १४ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिए । सांसदहरूले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले एकीकृत गरेर लैजाने प्रतिबद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।
विधेयकमा तोकिएभन्दा बढी ब्याज लिइएको पाइए ७ वर्षसम्म कैद र ७० हजार जरीवानाको व्यवस्था गरिएको छ । त्यस्तै अनुचित लेनदनेको आधारमा ऋणीबाट रकम वा चलअचल सम्पत्ति केही लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा सम्पत्ति बराबरको रकम कसुरदारबाट भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ । सरकारले यसअघि मीटरब्याजपीडितलाई न्याय दिन भन्दै अनुचित लेनदनमा कारबाहीको व्यवस्था समेटेर अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले राष्ट्रिय सभामा विधेयक प्रस्तुत गरेको थियो । राष्ट्रियसभाबाट उक्त प्रतिस्थापन विधेयक पारित भए पनि ६० दिनभित्र प्रतिनिधिसभाबाट पारित नहुँदा अध्यादेश निष्क्रिय भएको थियो । सरकारले आइतवार सोही प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित गराएको हो ।

