ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारको बैठक बिना निष्कर्ष सकियो
काठमाडौं,साउन ३ । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ । तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासी र सहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको बताए ।
छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरेर निचोडमा पुग्ने बताए । उनले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोरको गाडीहरु रोकिरहेकाले स्थानीयको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए ।
ककनी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए । उनले आइतबार काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निष्कर्षमा पुग्ने बताए ।

