साइबर सुरक्षामा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं,साउन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाइ सो सम्बन्धमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।
साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई गम्भीर भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले निर्देशित गरेको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेको काम कारबाहीबारे बिफ्रिङ गरेका थिए ।

