हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध



सिन्धुपाल्चोक,भदौ ९ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको हो । 

हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । 

निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् । ‘अहिले विद्यालयका फर्निचर लगायतका सामान सार्ने काम भइरहेको छ,’ उनले भने, ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।’

पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्