मकवानपुरको ‘ठेकी’ लोप हुँदै
मकवानपुर,भदौ २२ । मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
सामुदायिक वन क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा दरवारडाँडा सामुदायिक वनका पदाधिकारी, सदस्य र उपभोक्ताहरुले मकवानपुरको चिनारी ठेकी बनाउने दार लोप हुँदै गएको भन्दै सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्रको रुपमा विकास गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् ।
डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले ठेकी बनाउने दारका रुख बिरुवा लोप हुने अवस्थामा पुगेपछि आफूहरुले दारको संरक्षणमा अगुवाई गरेको जानकारी दिए ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिब यज्ञनाथ दाहाल, दरवारडाँडा सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर स्याङ्तानलगायतले दारको संरक्षण आवश्यक भएको बताए ।

