विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ
काठमाडौं,भदौ २४ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् ।
निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेता पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उनले बताएका हुन् । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तक्रिर्या कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्दै उनले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिएका हुन।
“विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ”, उनले भने, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उनको भनाइ थियो ।

