समग्र कारोबार सुस्ताए पनि काठमाडौं उपत्यकामा कसरी बढ्यो घर जग्गा किनबेच ?



काठमाडौं,असोज ३ । देशभर घर जग्गा किनबेच घटे पनि काठमाडौं उपत्यकामा भने केही वृद्धि भएको छ । भदौ महिनामा काठमडौंमामा ३ हजार ८४६ वटा घर जग्गा किनबेच भएको हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनको तुलनामा थप ६.८५ प्रतिशतले बढी हो । लामो समयदेखि सुस्ताएको उपत्यकाका घर जग्गा कारोबार थप वृद्धि भएको छ ।

उपत्यकामा तीन जिल्लाका ९ वटा मालपोत कार्यालयहरू छन् । ती कार्यालय मार्फत भदौमा ३ हजार ६४६ वटा घर जग्गा किनबेच भएको हो । तर, गत साउनमा ३ हजार ४१२ वटा घर जग्गा खरिदबिक्री भएको थियो । 

गत साउनमा देशभर ३९ हजार २६३ वटा घर जग्गा किनबेच भएको थियो । तर, भदौ महिनामा भने ९.११ प्रतिशतले घटेर ३५ हजार ६८६ वटा मात्रै घर जग्गा किनबेच भएको छ । अर्थतन्त्र चलायमान गराउन सरकारले एक महिना अघि जग्गा कित्ताकाट खोले थियो । तर, त्यसको प्रभाव घरजग्गा कारोबारमा देखिएन । झन् कित्ताकाट खुला गरेकै महिनामा घर जग्गा कारोबार घटेको थियो । यद्यपि, कित्ताकाटको परिणाम देखिन अझै केही समय लाग्ने व्यवसायीहरू बताउँछन् । 

सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । तर, सो निर्णय सहज रूपमा कार्यान्वयन हुन् नसक्दा सकिरहेको छैन, त्यसले गर्दा कारोबार बढ्न सकिरहेको छैन ।

समग्र कारोबार सुस्ताए पनि चालू आवको भदौ महिनामा उपत्यकामा घरजग्गा कारोबार बढेको हो । सहज रूपमा कित्ताकाट हुन सकेमा झन् बढ्ने बताइन्छ  । सरकारले कित्ताकाट खुलायो । तर, यसको सहज कार्यान्वयन हुन सकिरहेको छैन । त्यसले गर्दा  पनि कारोबारमा चमक आउन सकेको छैन’– एक व्यवसायीले भने ।  यद्यपि, आगामी दिनमा भने थप बढ्ने उनको भनाई छ । 

पछिल्लो समयमा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढी रहेको र ब्याजदर  पनि तुलनात्मक रूपमा घटेकाले पनि कारोबार बढेको हो । पछिल्लो समय बैङ्कहरूले घर जग्गा कर्जामा लगानी बढाउन विभिन्न स्किम समेत ल्याएका छन् । यसले घर जग्गा किनबेच गर्न थप प्रोत्साहन गरेको बताइन्छ । यसको प्रभाव काठमाडौं उपत्यकामा केही रूपमा देखिएको एक अधिकारीले बताए । ती अधिकारीले भने,–‘बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम पनि बढी रहेको छ । कर्जाको ब्याजदर क्रमिक रूपमा घटेको पाइन्छ । बैङ्कहरूले पनि घर जग्गा कर्जालाई प्राथमिकतामा राख्न थालेका छन् । जसले कारोबार बढ्न पुगेको देखिन्छ ।’

कित्ताकाट खुल्नु, बैङ्कहरूले लगानी बढाउन विभिन्न स्किम ल्याउनु जस्ता कारण पनि घर जग्गा खरिदबिक्रीकर्ताको मनोबल बढेको पाइन्छ । तर, यसअघि आर्थिक मन्दी, उच्च ब्याजदर, महँगी लगायत पनि लगानी गर्न डराईरहेको थिए । आर्थिक सङ्कटले नै क्रय शक्ति घटेको थियो । त्यस्तो अवस्थामा बैङ्कबाट कर्जा लिएर घर जग्गामा लगानी गर्ने सक्ने अवस्था पनि थिएन । तर, अहिले वातावरण अहिले सहज देखिन्छ । त्यसले पनि खरिदबिक्रीकर्तालाई थप प्रोत्साहन गरेको छ । 

लगनखेल र भक्तपुरमा सबैभन्दा धेरै घर जग्गा किनबेच

भदौमा सबैभन्दा धेरै घर जग्गा किनबेच भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल र भक्तपुरबाट भएको छ । भदौमा लगनखेल कार्यालय मार्फत ८४० वटा घरजग्गा किनबेच भएको छ । गत साउनमा पनि सो कार्यालयबाट ८३२ वटा घर जग्गा कारोबार भएको थियो । यता, भक्तपुरबाट पनि भदौमा ८४० वटा घर जग्गा किनबेच भएको छ । गत साउनमा पनि ७९८ वटा घर जग्गा कारोबार भएको थियो । 

यस्तै, मालपोत कार्यालय कलङ्की काठमाडौं ५९४ वटा, चाबहिलबाट ४०७ वटा, साँखुबाट ३६७, मनमैजुबाट २७३ वटा घर जग्गा कारोबार भएको छ । यता, डिल्लीबजार कार्यालयबाट १७४, टोखा कार्यालयबाट १३५ र गोटीखेल ललितपुर १६ वटा घर जग्गा किनबेच भएको छ । 

दोहोरो अङ्कले बढ्यो राजश्व, एक महिनामा थप २४ करोड बढी सङ्कलन 

काठमाडौं उपत्यकामा घर जग्गा कारोबार बढेसँगै राजश्वमा पनि बढोत्तरी देखिएको छ । भदौमा उपत्यकामा घर जग्गा कारोबार उठ्ने राजश्व दोहोरो अङ्कले वृद्धि भएको हो ।

गत साउनमा उपत्यकाबाट सरकारले १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । तर, भदौमा थप २४ करोड २९ लाख रुपैयाँले बढेर १ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

काठमाडौं उपत्यकामा कारोबार बढेसँगै घर जग्गा कारोबार उठ्ने कुल राजश्व पनि वृद्धि भएको छ।  भदौमा देशभरबाट ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । घर जग्गा कारोबार घट्दा पनि मुख्य ठुला सहरमा किनबेच बढेसँगै राजश्व बढेको हो ।

साउनमा भने सरकारले घर जग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बढी राजश्व प्राप्त गरेको थियो । राजश्वमा सबैभन्दा योगदान लगनखेल कार्यालयकै छ । भदौमा सो कार्यालय मार्फत ३३ करोड ९१ लाख ६८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै, दोस्रो स्थानमा रहेको डिल्लीबजारबाट २४ करोड १८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । तेस्रो स्थानमा रहेको भक्तपुरबाट पनि २२ करोड ७० लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

यस्तै, चाबहिलबाट २० करोड ५० लाख, कलङ्कीबाट १९ करोड १४ लाख, साँखुबाट ६ करोड ९० लाख, मनमैजुबाट ५ करोड ६४ लाख, टोखाबाट ५ करोड ६१ लाख र गोटीखेलबाट २ लाख ९५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

प्रतिक्रिया दिनुहोस्