अपराधजन्य घटना नियन्त्रण गरिनुपर्छ : अध्यक्ष ओली



काठमाडौं,असोज ५ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधजन्य घटना नियन्त्रण गर्नुपर्ने बताएका छन् । 

शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउनेभन्दा हिंसालाई प्रोत्साहन गर्नेतिर केन्द्रीत रहेको उनले टिप्पणी गरे । फागुन १ गते माओवादी विद्रोह सुरु भएको दिनलाई सार्वजनिक विदा दिने सरकारको निर्णय उचित नरहेको उनले बताए । 

सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुगाउने उल्टो बाटो हिँडिरहेको बताए । अध्यक्ष ओलीले सरकारको ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको पनि टिप्पणी गरे।  

उनले भने, “हिंसा दिवस र शान्तिप्रक्रिया सँगसँगै जान नसक्ने हो । एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन अन्याय र अपमान हुन्छ । सरकारले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गरिराखेको छ ।” 

अध्यक्ष ओलीले सरकारले अपराधजन्य काममा लाग्न नहुनेभन्दै मुलुकमा शान्ति व्यवस्था कायम गर्न कानुनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । सरकारको ध्यान मुलुक बनाउनुभन्दा सत्ता बचाउनमा मात्र केन्द्रित रहेको उनले टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस्