भैरहवा विमानस्थलमा पुन: जजिराको उडान

काठमाडौं,असोज ९ । गौतमबुद्ध (भैरहवा) अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी जजिरा एयरवेजले पुन: उडान शुरू गर्ने भएको छ । यसका लागि उक्त विमानस्थलले कम्पनीले माग गरेअनुसार ‘विन्टर सेड्युल’ स्वीकृत गरिदिएको छ ।
विमानस्थल कार्यालयले विन्टर सेड्युल स्वीकृत गरेसँगै कम्पनीले अब साताको तीन दिन उडान गर्नेछ । विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले पहिलेजस्तै सोमवार, बुधवार र शुक्रवार उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको जानकारी दिए । नोभेम्बरदेखि मार्चसम्मको अवधिका लागि कम्पनीले उडान अनुमति पाएको हो ।
५ महीनादेखि जजिराले उक्त विमानस्थलबाट उडान बन्द गरेको थियो । सो विमानस्थलको उद्घाटन नै यही एयरलाइन्स कम्पनीको अन्तरराष्ट्रिय उडानबाट भएको थियो । यो विमानस्थलबाट गत जेठदेखि नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरमा उडान गर्दै आएको छ । कम्पनीले साताको एक दिन मंगलवार यो विमानस्थलबाट सो गन्तव्यमा उडान गर्दै आएको हो । कम्पनीको जहाज क्वालालम्पुरबाट सीधै भैरहवास्थित सो विमानस्थलमा अवतरण हुने गरे पनि भैरहवाबाट भने काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान हुने गरेको छ ।