बुबा डिल्ली प्रसाद सिटौलाको सम्झनामा छोरा प्रल्हाद सिटौलाको शब्दान्जली
काठमाडौं,असोज २८ । श्री वीरेन्द्र अस्पताल जसको नाम सुन्दा पनि मन्दिर झैं पबित्र श्रद्धाले शीर निहुरन्छ। यो अस्पताल काठमाडौंको छाउनीमा अवस्थित छ। नेपाली सेनाको सैनिक कल्याणकारी कोष अन्तर्गत सञ्चालित यो अस्पताल विक्रम संवत १९९० सालमा स्थापना भएको हो। यस अस्पतालसँगको हाम्रो सम्बन्ध झण्डै दुई दशक देखिको हो। हाम्रो साइलो दाईले नेपाली सेनामा सेवा गर्न थालेपछि बुवा आमाको पनि यसै अस्पतालबाट उपचार सुविधा पाउने भइयो । उपचारका काड बनाएर बिं.स. २०६५ सालदेखि बुबाआमाको यसै अस्पतालमा उपचार हुँदै आइरहेको छ। आमालाई भन्दापनि बुबालाई हामीले धेरैपटक यो अस्पतालमा उपचार गराएका थियौं । साँझ,बिहान , दिन रात,चाडपर्व प्रायः सबै समयमा हामी यो अस्पतालमा पुगेका छौं बसेका छौं सेवा लिएका छौं। यति ठूलो अस्पतालको वाडहरु , बिभागहरु, आकस्मिक कक्ष, प्रयोगशाला लगायत हामी नपुगेको हामी नबसेको ठाउँहरु सायदै होलान्। पहिलो पटक मात्र होइन एक-दुई चोटि यो अस्पतालको भ्रमण गरिसक्ने मानिसलाई पनि कताबाट छिर्यो भने कहाँ निस्किन्छ भन्ने कुराको भेउ पाउन गारो हुन्छ। हामी भने यो अस्पतालसँग यति अभ्यस्त भइसकेका छौं कि आँखा चिम्लेर हिँड्दा पनि भनेकै ठाउँमा पुग्न सक्छौं होला जस्तो लाग्छ। कहिले अस्पतालमा पुगेको केही छिनमा नै डाक्टरले बुबालाई घर फर्काइदिन हुन्थ्यो। कहिले एकदिन, कहिले दुई तीन दिन, धेरैपटक हप्ता दश दिन र पछिल्लो पटक तेर्ह दिन यो अस्पतालको बसाई रह्यो। मेरो बुबालाई धेरैपटक मृत्युको मुखबाट बचाएको यो अस्पतालले धेरै कोशिश गर्दा पनि यो पटक भने सकेन। लगातार अस्पताल बसेको १३औं दिनको राति बुवाले हामीलाई छोडेर जानुभयो ।बुबाको अन्तिम अवस्था हो भनेर डाक्टरले हामीलाई बताउनुभएको थियो। हामीलाई भने पत्यार लाई रहेको थिएन। दमको समस्या रहेको बुबालाई पछिल्लो समय प्रोस्टेट क्यान्सर समेत देखिएको थियो। क्यान्सर लागेको मानिस खाँदाखाँदै हिँड्दाहिँड्दै हामीलाई छोडेर जानु होला भनेर विश्वास पनि कसरी गर्ने? डाक्टरले अब बढीमा चौबीस घण्टा भनेपछि हाम्रो रुवाबासी चल्यो। अरु सबै सन्तानहरु काठमाडौंमै भएपनि जेठी दिदी गाउँमा हुनुहुन्थ्यो भने ठूलो दाजु दिल्लीमा हुनुहुन्थ्यो। दुबैजनालाई तुरुन्तै काठमाडौँ बोलाइयो। सबैले बुवाको अन्तिम अवस्था देख्न पाए। डाक्टरले चौबिस घण्टा भनेको भोलिपल्ट बिहानबाट बुबाको स्वास्थ्य सुध्रन थाल्यो। आफुले २४ घण्टाको समय दिएको डाक्टर भोलिपल्ट विदा भएकोले पर्सिपल्ट आउदा बुबालाई जिउदै देखेर अचम्मित हुनुभयो। केही समय थला पर्नु होला ओछ्यानमै दिसापिसाब होला, केही कुरा खान नसक्ने भएर अस्थिपन्जर मात्र भएको धेरै क्यान्सर पिडितहरु देखेको थिए। मेरो बुबाको पनि यस्तै हाल होला भनेर डर लागिरहेको थियो। डाक्टरले दिएको समय पछि झण्डै एक हप्ता बुबाको स्वास्थ्य साह्रै राम्रो भयो। छुस्स फुलेको दारी देखेर घरबाट मेसिन मगाएर आफैंले दारी समेत काट्नु भयो।डक्टरले डिस्चार्जको योजना नै बनाउनुभएको थियो। तर समय आएपछि कसैको केही लाग्दो रहेनछ। बिहानको खाना आफैंले सामान्यरुपमा खाएर दिउसो चिया समेत आफैंले खानुभएको मेरो बुबा राति भने हामीलाई छोडेर जानुभयो। बुबाको अन्तिम अवस्थामा डाक्टरहरुले देखाउनुभएको सदासयता र सहयोगी व्यवहारले अझपनि हामीलाई भावविह्वल बनाउँछ। अन्तिमा अबस्था भन्ने थाहा पाएपछि कतिपय अस्पतालले बिरामीलाई घर लिएर जान दबाब दिने तथा डाक्टर नर्सहरुले राम्रोसँग हेरचाह नगर्ने घटना हामीले देखेका छौं। यहाँ भने यस्तो भएन। हामीलाई हाम्रो विरामीको अन्तिम अवश्था बताउँदै आइसियु तथा भेन्टिलेटरमा राख्ने मेडिकल प्रोटोकलको बारेमा बताउँदै तपाईहरु के गर्नुहुन्छ भनेर हामीसँग सल्लाह गरियो। हामीले पनि पारिवारिक छलफल गरेर भेन्टिलेटरमा नराख्ने निर्णय सुनायौ। दाई नेपाली सेनामा सेवारत हुनुभएकोले यहाँ लाग्ने सम्पूर्ण उपचार हामीलाई निःशुल्क हुन्छ। निःशुल्क पाइने उपचार भनेर हामीले कहिल्यै कहिँपनि फरक व्यवहार पाएनौ। अधिकृत पदिक अन्य दर्जा सबैलाई एउटै व्यवहार हुन्थ्यो। डाक्टरहरु दिनमा दुई चोटी राउन्डमा आउनुहुन्थ्यो। नर्स हरुको ६-६ घण्टामा तापक्रम, पल्स, ब्लडप्रेसर जस्ता सूचकहरु जाँच्न को लागि आइरहनु हुन्थ्यो। बुबालाई हाइकियर युनिटमा राखिएको थियो जहाँ दिशा, पिसा समेत अस्पतालकै कर्मचारीहरुबाट गराइन्थ्यो। उहाँहरूको व्यवहार कति सालिन र भद्र थियो कि सिपाही नै भएपनि दाई नेपाली सेनामा सेवारत भएकोमा छाती गर्वले ढक्क फुल्थ्यो।
यस अस्पतालका आफ्नै किसिमका नियमहरु छन्। अस्पतालभित्र प्रवेश गर्ने सबै मानिसको रेकर्ड गेटमानै राखिन्छ। बिरामी भेट्न जानेहरुको सबैको परिचयपत्र गेटमा राखेर मात्र भित्र जान दिइन्छ।भित्र जानेहरुलाई पास कार्डको व्यवस्था रहेको छ। इमरजेन्सी आएका बिरामीलाई आर.डि.टी. परिक्षण गरेर मात्र इमरजेन्सी कक्षभित्र जान दिइन्छ। इमरजेन्सी कक्षका बिरामीहरूको लाइफलाइन भाइटलहरु परीक्षण गरेको आधी घण्टाभित्रमानै रिपोर्ट दिइन्छ। प्रशस्त खुल्ला स्थान भएको यस अस्पतालमा गेटबाट छिर्नेबित्तिकै सुन्दर बगैँचाले स्वागत गर्दछ । अस्पतालका यति राम्रा सेवाहरु सामान्य सिपाहीमा जागिर खानेको परिवारले समेत पाउनु गर्भको कुरा हो। अस्पतालको टिकट, डाक्टरको शुल्क, प्रयोगशालाका शुल्कहरु, अप्रेशन शुल्क, बेड शुल्क तथा औषधिहरु समेत निःशुल्क हुन्छन्। अस्पतालको गेटबाट छिर्नेबित्तिकै बिरामीमा भरोसा बढ्छ। बिरामीका आफन्तहरुलाई समेत अब ठाउँमा लेराइएको छ भनेर ढुक्कको सास फेर्ने वातावरण बन्छ। मेरो बुबालाई त धेरैपटक घरमा गाह्रो भएपछि यहाँ पुर्याउना साथ रोग आफै निको भएका धेरै उदाहरणहरु छन्। कुनै औषधि दिइएको छैन। सुइ लगाएको छैन तर पनि बुबाको बेथा आधा कम भइसक्थ्यो।
हामीले बुबाको उपचारको क्रममा अस्पतालमा धेरै समय बिताएका छौँ। यहाँका प्रत्येक वार्डहरु, हरेक बेडहरु ,भित्ता हरु, भुइँहरु , प्रयोगशाला, आकस्मिक कक्ष, फार्मेसी , भर्याङहरू, बाहिर रहेका बगैंचा तथा खुला चौर , क्यान्टिन लगायत बनस्थलीबाट भगवान पाउ हुँदै अस्पताल जाने बाटोसग समेत अभ्यस्त भयौं। रातभरि बिरामीहरूको चित्कार र मेसिनहरुको आवाजले निन्द्रा नपरेपनि बिहानपख झपक्क निन्द्रा परेका हामी कुरुवाहरुको निन्द्रा चिया आयो है भन्ने आवाजले बिहान ५ बजे नै बिथोली दिन्थ्यो। बिहान ५ बजे कालो चिया बाट बिरामीको सेवा सुरु हुन्थ्यो। त्यसैगरि बिहान ७ बजेतिर बिरामीहरूलाई दुध, अण्डा, पाउरोटी,कनफ्लेक्स, लिकुइट जस्ता पोषणयुक्त खानेकुरा हरु उपलब्ध गराइन्छ। ११ बजेतिर मासुसहितको खाना, दिउँसो ३ बजे फलफूल तथा बिस्कुटहरु र साझ ६ बजे खाना, लिकुइट तथा रोटी बिरामीको अवस्था अनुसार दिइन्छ। यहाँको सन्तुलित खाना र दिने समय देख्दा यस्तो लाग्छ यहाँको खानाले नै बिरामीलाई निको बनाउँछ औषधीको कुनै आवश्यकता नै पर्दैन। त्यसमाथि पनि औषधि र स्वास्थ्यकर्मीहरूको व्यवहारले बिरामीलाई छिट्टै निको बनाउँछ। अन्य अस्पताल जाँदा मलाई अहिले पनि डर लाग्ने गर्छ। के-के जाँच गर्नुपर्ने हो, कति समय धाउनुपर्ने हो र कति खर्च लाग्ने हो? नेपालका अस्पतालहरुमा अहिले हाम्रो क्षमता भन्दा महङ्गो उपचार खर्च निस्कन्छ। तर यस वीरेन्द्र अस्पतालमा अस्पतालको सम्पूर्ण खर्चहरु निःशुल्क हुने हुँदा यहाँ आउँदा छुट्टै आनन्द मिल्दो रहेछ। आखिर तनाव भन्ने कुरा पनि त पैसामा नै त बिक्दो रहेछ। यस अस्पतालमा आएपछि तनाव भन्ने कुरा प्राय हुँदैहुँदैन। बिरामीको सम्पूर्ण उपचार खर्च निःशुल्क हुनुको साथै बिरामीको लागि पौष्टिक तत्वयुक्त खाना समेत अस्पतालले नै उपलब्ध गराउछ। यतिमात्र नभएर अस्पतालमा सञ्चालित क्यान्टिनमा समेत न्यून शुल्कमा स्वस्थकर खानेकुरा उपलब्ध हुन्छ। पाँच रुपैयाँमा चिया, साठी रुपैयाँमा सादा खाना, नब्बे रुपैयाँमा चिकेन खाना तथा अन्य यस्तै न्यून शुल्कमा खाजा तथा नास्ताहरु ।तपाईलाई विश्वास लागेन होला। हो यस अस्पतालमा यस्तै मेनुमा सञ्चालित क्यान्टिन रहेको छ। त्यसैले त मैले भनेको यस अस्पतालमा छिरिसकेपछि तनाव आफै हराउँदै जान्छ र बिरामीलाई समेत शान्ति मिल्छ।
बुबालाई हप्तामा २-३ पटक समेत अस्पताल लानुपर्थ्यो। घरमा एकदमै गाह्रो भइरहेको छ अस्पताल लग्यो बुबालाई बेथा कम भइहाल्थ्यो। फेरि घर ल्यायो बेथा जस्ताको तस्तै हुन्थ्यो। यसरी बुबाको बेथा र अस्पताल ले धेरैपटक लुकामारी गरे। बेलुका गाह्रो भयो भने बुबा अस्पताल जान मान्नु हुँदैनथ्यो। राती अस्पतालमै राखिदिन्छ र कुर्ने लाई गारो हुन्छ भन्ने उहाँको मनसाय हुन्थ्यो। कतिबेला दिउसै अस्पताल लगिएको छ भने बेलुकासम्म अस्पतालनै भइयो भने बेलुका भएपछि बुबाले मलाई निको भयो घर लैजाऔ भन्नुहुन्थ्यो। यसमा पनि बुबाको राति हामीलाई अस्पतालमा कुर्न नपरोस भन्ने मनशाय नै देखिन्थ्यो। तर हामीले भने आफ्नो जोडबलले घर लाने नलाने कुरामा कहिल्यै हस्तक्षेप गरेनौ डक्टरको सल्लाह अनुसार नै गर्यौ। हामीलाई यो अस्पताल बस्ने बानी परिसकेको थियो। यो अस्पतालमा बस्न हामीलाई सजिलो नै लाग्थ्यो। बुबा बित्नुभएको झन्डै ६ महिना हुन लागिसक्यो। त्यसपछि भने म यो अस्पताल गएको छैन।यो बिचमा आमालाई एक-दुई चोटि अस्पताल लगियो होला तर भाइबहिनीहरू नै गएका छन्। मलाई अहिले पनि बैशाख २६ गतेको त्यो कालो रातले सताइरहन्छ ।हाइ केयर बाड बेड नं.१०२५। एउटा हात बुबालाई सिरानी बनाएको थिएँ र अर्को हातले उहाको जिउमा सुम्सुमारहेको थिएँ । बुबाको शरीरबाट यति धेरै पसिना बगिरहेको थियो कि लगाएको गाउन पुरै भिजीसकेको थियो। पसिनाले विस्तारा समेत भिजीसकेको थियो। जुन कपडाले पसिना पुछ्यो त्यो कपडा पुरै भिजीसक्थ्यौ । अक्सिजन र पल्स एक्कासी घट्यो। पलभरमै बुबाको प्राण उडेर गयो। मलाई अहिले पनि त्यो वार्डमा जुन बेडमा मेरो बुबाको प्राण गयो त्यहाँ जाने आँट आएको छैन। बुबा त्यही सुतिरहनुभएको त छैन जस्तो लाग्छ। बुबालाई भेट्न आउने हरेक व्यक्तिलाई ढोकाबाट भित्र पसेपछि पुलुक्क हेरेर प्रतिकृया जनाउनुहुन्थ्यो। हामीहरु भित्र छिर्दा जनाउने प्रतिक्रिया बेग्लै हुन्थ्यो । हामीहरु भित्र छिर्दा बढो भरोसा युक्त प्रतिक्रिया जनाउनुहुन्थ्यो। जतिसुकै गाह्रो भए पनि हामीहरु भित्र छिर्दा खुशी महसुस गर्नुहुन्थ्यो । धेरै रोगले सताएको ८१ बर्षको मान्छे बित्दा धेरै मानिसहरूबाट सुख पाउनु भयो भन्ने प्रतिक्रिया पाइन्थ्यो। तर हाम्रो मनले भने मान्दो रहेनछ। अझै केही वर्ष बाची दिनु भएको भए हुन्थ्यो भन्ने लागि नै रहँदै रहेछ। हामीहरु ८/८ वटा छोराछोरीहरू हुर्काउने घरपरिवारको दायित्व , दिदीबहिनी भान्जाभान्जी दाजुभाइ सबैको जिम्मेवारी काँधमा बोक्दा बोक्दा आफ्नो बारेमा कहिल्यै सोच्न पाउनुभएन। हामीलाई थाहा हुने बेलासम्म एक छाक मिठो खाने र एकजोर नयाँ लुगा लगाउने रहर नै हुन्थ्यो। आमाबुबाले हाम्रो लागि भनेर यति धेरै दुःख गर्नुभएको थियो कि अहिले पनि सम्झना मनै अमिलो हुन्छ। जब हामीले केहि कमाउन सक्ने भयौं। उहाँहरूको रहरहरु पुरा गर्न सक्ने भयौं। सुरुमा त काठमाडौ आउन मान्नु नै भएन। धेरैपछि मात्र आउन मान्नुभयो।२०७५ सालको अन्त्यतिर बुबाआमा काठमाडौ आउनु भएको हो। उहाँहरूलाई मन लागेको कुरा खुवाउन तथा इच्छाहरु पुरा गर्न पाउँदा हामीहरुलाई सबैभन्दा आनन्द महसुस हुन्थ्यो। जिन्दगीभरी यति धेरै दुःख गर्नुभएको बुबाआमालाई अब यति धेरै सुख सँग पालौला भन्ने लागेको तर त्यो रहर धेरै लामो समय टिकेन। जति समय टिक्यो खुसीसँगै टिक्यो।
हुन त वीरेन्द्र अस्पतालमा हामीले यति सुविधायुक्त उपचार पाउँदैनथ्यौ भने हामीले बुबालाई यो उमेरसम्म बचाउन सक्दैनथ्यौ होला। बुबा जति भाग्यमा लेखेको छ त्यति मात्र पाइन्छ भन्नुहुन्थ्यो। आखिर त्यही नै होला जिन्दगी। मलाई अहिले पनि लाग्ने गर्दछ वीरेन्द्र अस्पताल को जस्तै मोडेलमा देशभर हरेक जिल्लामा एउटा एउटा अस्पताल हुन्थ्यो भने धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्ने थिएन। अस्पतालमा लगिसकेपछि ढुक्कसँग उपचार हुन पाउने। उपचार खर्च नलाग्ने हो भने कसले पो समयमै बिरामीलाई अस्पताल लाग्दैनथ्यो होला र? अनि रोग लाग्नुभन्दा पहिले नै अस्पतालमा गएर जचाइरहँदा अथवा रोग लागे पनि सुरुकै अवस्थामा अस्पताल पुग्दा कस्ले पो अकालमा ज्यान गुमाउनु पर्थ्यो होला र? यस्तो हुने हो भने त्यो पो समाजवाद हुने थियो होला। धेरै खर्च लाग्छ भनेर डराई डराई अस्पताल जानुपर्ने र उपचारै नपाइकन मर्नुपर्ने अवस्था रहँदासम्म कसरी समाजवादको कल्पना गर्न सकिएला र? जय बिरेन्द्र अस्पताल छाउनी।