प्रचण्डले मुस्ताङलाई ५० करोड दिने घोषणा



काठमाडौं,कात्तिक १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बुधवार मुस्ताङमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले एउटा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने झण्डै ५० करोड सहयोग मुस्ताङलाई दिने बताए  । प्रधानमन्रीले सरकारको यस घोषणा नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति निकै नै संवेदनशील छ भन्ने प्रमाण भएको बताएका छन् ।

मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको समेत उनले बताए ।प्रधानमन्त्रीले  हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान दिनुका साथै ग्लोबल फण्ड त्यस क्षेत्रमा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । 

‘जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको छ’ प्रधानमन्त्रीले भने, ‘न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा आयोजित खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा हामीले नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असरबारे विश्वको ध्यानाकर्षण गराएको छौं ।’

जलवायु परिवर्तनसँग सम्बन्धित कोप–२८ सम्मेलनमा पनि सहभागी हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले उक्त सम्मेलनमा पनि आफूले यसबारे फेरि विश्वको ध्यानाकर्षण गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्