शान्ति सैनिकको योगदान उच्च
काठमाडौं,कात्तिक ३ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको छ ।
शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् । उनले विश्वशान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा नै उनले प्रस्ट पारेका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि संयुक्त राष्ट्रसङ्घ दिवस मनाउँदै नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा शान्ति र मानव अधिकार रहेको प्रस्ट्याएका छन् ।
विश्वशान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ । नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका १९४ जना गरी कुल छ हजार २९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । पहिलो मुलुक भने बङ्गलादेश भएको छ ।
सङ्घले प्रकाशित गरेको सूची अनुसार विश्वका १२५ मुलुकले शान्ति मिसनमा सैनिक पठाएका छन् । उच्च १० मुलुकमा नेपाल, बङ्गलादेश, भारत, रुवान्डा, पाकिस्तान, घाना, इन्डोनेसिया, सेनेगल, चीन र इजिप्ट छन् ।
शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने नेपाल विश्वमै एक नम्बरमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । नेपालले विश्वकै सबैभन्दा धेरै ६१२ जना शान्ति सैनिकमा पठाएको छ । पहिलो नम्बरमा रहेको बङ्गलादेशले ५६६ र तेस्रोमा रहेको छिमेकी मुलुक भारतको १२५ जना महिला शान्ति सैनिक रहेका छन् ।
शक्तिशाली मुलुककै कम शान्ति सैनिक
मानव अधिकारको वकालतलाई विश्वव्यापी बनाउने मुलुक नै शान्ति स्थापनाका लागि कमजोर देखिएका छन् । विश्वका शक्तिराष्ट्र मानिएका मुलुक नै विश्वशान्ति स्थापना र वैश्विक मानव अधिकारको प्रत्यक्ष संरक्षणमा कमजोर देखिएका हुन् । एसियाबाट उदाउँदो विश्वशक्तिका रूपमा रहेको छिमेकी मुलुक चीन शान्ति मिसनमा योगदान पु¥याउने मुलुकमध्ये नवौँ नम्बरमा छ । विश्वकै झन्डै आधा जनसङ्ख्या रहेको चीनबाट मात्र दुई हजार २७७ जना शान्ति सैनिक छन् । दक्षिण एसियाको सबैभन्दा ठुलो जनसङ्ख्या रहेको छिमेकी मुलुक भारतको तर्फबाट जम्मा छ हजार ९७ जना शान्ति मिसनमा कार्यरत छन् । संयुक्त राज्य अमेरिकाले मात्र ३५, रुसले ७६, बेलायतले दुई ८२, अस्ट्रेलिया १६९, जर्मनी ५७०, दक्षिण कोरिया ५४२, ब्राजिलले ८१, दक्षिण अफ्रिकाले एक हजार १७० र जापानले चार जना मात्र शान्ति सैनिक पठाएका छन् ।
मानव अधिकारप्रति प्रतिबद्ध नेपाल
दोस्रो विश्वयुद्धपछिको विश्वको जर्जर अवस्था सुधार्न शान्ति सैनिकको अवधारणा आएको हो । उति बेला युद्धरत क्षेत्रमा आफ्नो देशको सेना पठाउनु भनेको मृत्युको मुखमा पठाउनु हो भन्ने मान्यता राखिन्थ्यो तर नेपालले भने हरेक द्वन्द्वग्रस्त क्षेत्रमा नेपालको अब्बल कार्यसम्पदान गरेका कारण शान्ति मिसनको पहिलो खोजी नेपाली सैनिकको हुने गरेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउछन् । गोरखापत्रबाट

