सुनका गहना निर्यातमा भारी कमी, राज्यले प्रोत्साहन नगरेको व्यवसायीको गुनासो



काठमाडौं,मंसिर १४ । यो वर्ष सुनका गहनाको निर्यातमा ब्यापक कमी आएको देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्मा नेपालबाट ९ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको थियो ।

तर, चालु आव २०८०/८१ को सोही अवधिमा आइपुग्दा भने ८५ प्रतिशतले गिरावट आएको छ । चालु आवको चार महिनामा १ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै गहना निर्यात भएको विभागले जनाएको छ ।

सरकारी नीतिकै कारण गहना निर्यात प्रभावित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । उपभोक्ता मैत्री नीति नहुँदा नै गहना निर्यात घट्दै गएको अध्यक्ष शाक्यको भनाई छ ।

व्यवसायीको भाषामा ‘उपभोक्ता मैत्री’ वा ‘निर्यातमैत्री’ जे भने पनि त्यसको सीधा अर्थ निर्यातमा अनुदान माग्नु हो । तर राज्यले यस किसिमको अनुदान दिने संकेतसम्म नगरेकोप्रति उनीहरुको गुनासो छ ।

सरकारले गहना निर्यातका लागि छुट्टै नीति नबाउँदा समस्या उत्पन्न भएको उनले बताए । ‘ठूलो संभावना भएको वस्तुको समेत निर्यात बढ्न नसक्दा राज्यले पनि यसबाट प्राप्त हुने अधिक विदेशी मुद्रा गुमाउँदै आएको छ’, शाक्यले भने ।

अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदै गएका कारण पनि गहना निर्यात बढ्न नसकेको व्यवसायीले बताएका छन् । पछिल्लो समय सुनको भाउ निरन्तर बढी रहेको छ । अहिले नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार नाघेको छ । यसरी निरन्तरको मूल्य बृद्धिले पनि निर्यातमा केही असर गरेको शाक्यले बताए ।

‘गहना निर्यातलाई प्रोत्साहन नै छैन । विमानस्थलमा रहने सरकारी कर्मचारीहरुको व्यवहारले पनि उपभोक्ताहरु सुनका गहना लिएर जान डराउने अवस्था बनेको छ’, उनले थपे, ‘भन्सारमा रहेका कर्मचारीले नै गहना लैजाने उपभोक्तालाई अनावश्यक समस्या दिन्छन्, यसले निर्यातमा नकारात्मक प्रभाव परेको छ ।’

विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको छ । नेपालीहरूको बसोबास हुने ठाउँहरूबाट सुनका गहनाको अत्यधिक माग हुने गरेको व्यवसायी बताउँछन् ।

अमेरिका, अष्ट्रेलिया, बेलायत, हङकङ लगायतका मलुकहरुबाट सुनका गहनाको बढी माग हुने गरेको व्यवसायीहरु बताउँछन् । ती मुलुकमा पछिल्लो समय नेपालीको बसोबास बढ्दै गएको छ । उनीहरुबाट नै नेपाली परम्परागत शैली तथा डिजाइनका गहगहनाको बढी माग हुने गरेको व्यवसायीको भनाइ छ ।

‘गैरआवासीय नेपालीहरुले विदेशी मुलुकहरुमा नबन्ने नेपाली परम्परागत शैलीका गहना बढी रुचाउँछन्’ शाक्यले थपे, ‘सरकारले निर्यातमैत्री नीति बनाउने हो भने यसबाट राम्रै विदेशी मुद्रा आर्जन गर्न सकिन्थ्यो ।’

आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेशी मुलुकहरुमा निर्यात हुन थालेको हो । भन्सार विभागले एचएस कोड दिएपछि सोही वर्षदेखि औपचारिक रुपमा निर्यात सुरु भएको थियो ।

पहिलो वर्ष नेपालबाट ३८ करोड ७१ लाख रुपैयाँको ३८ केजी बराबर सुनका गहना निर्यात भएको थियो । आव २०७८/७९ मा ५३ करोड २७ लाख रुपैयाँ बराबरको ६१ केजी सुनको गरगहना निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तर, पछिल्लो समय भने यो आँकडा निरन्तर घटिरहेको छ । गत आर्थिक वर्ष नेपालबाट १८ करोड ८७ लाख रुपैयाँ बराबरको मात्रै गहना निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्