कमिशनतन्त्रको खेल बन्द गर्न केपी ओलीको आह्वान



विदुर,मंसिर २४ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कमिशन तन्त्रको अन्त्य गर्न र वित्तीय क्षेत्रको समस्या हल गर्न सरकारसँग आग्रह गरेका छन् । एमालेको ‘मेची महाकाली यात्रा’का दौरान नुवाकोटको विदुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘देशलाई कंगाल बनाएर केही मानिसहरुले ढुकुटी भर्ने कमिशन तन्त्रको खेल बन्द गर’, उनले भने, ‘नेपाली जनता यो सुन्न र सहन तयार छैन ।’ ओलीले विभिन्न भ्रष्टाचार र तस्करीसँग जोडिएका कयौं प्रश्नहरुमा सरकारले चित्तबुझ्दो जवाफ दिन नसकेको भनेका छन् । सांसदहरुले उठाएका प्रश्नको समेत चित्तबुझ्दो जवाफ सरकारले नदिएको उनले बताए ।

त्यस्तै अर्को प्रसंगमा अध्यक्ष ओलीले बैंकका ऋणीहरुले दुई वर्षयता भोगदै आएका समस्याको निराकरण तत्काल खोजिनु पर्ने बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबाट कतिपय खुकुला प्रावधानहरु अघि सारेको भोलिपल्ट ओलीको यस्तो भनाइ आएको हो ।

बैंकले ऋण दिएपछि एकतर्फी रुपमा ब्याजदर परिमार्जन गर्ने प्रावधान नै खारेज गर्नुपर्ने तर्क ओलीले अघि सारेका छन् । ‘जुन शर्तमा ऋण दिएको छ, त्यो शर्त पालना हुनुपर्छ’, उनले भने, ‘कुनै कारणवश त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुईपक्षीय सहमतिबाट मात्रै घटवढ गर्न मिल्ने व्यवस्था हुनुपर्छ ।’

ओलीले कर्जा सम्झौतामा बैंकले ‘घटवढ गर्न सक्नेछ’ भन्ने शब्द लेख्ने गरेको भए पनि ‘घट’ भन्ने शव्द त लेखेको मात्रै हो, कहिल्यै कार्यान्वयन हुँदैन भनेर व्यंग गरे । ‘बढ मात्रै हुने हो । त्यो ‘बढ’लाई एकलौटी बढाउन नपाउने प्रबन्ध हुनुपर्छ’, उनले थपे ।

कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउन पनि अध्यक्ष ओलीले माग गरेका छन् । अहिले धेरै व्यावसायीक संस्थाहरुले पनि एकल अंकको ब्याजदरको वकालत गरिरहेका छन् । त्यसबाहेक कर्जाको पुनःसंरचना गर्ने सुविधालाई पनि ब्यापक बनाउनु पर्ने माग अध्यक्ष ओलीले अघि सारेका छन् ।

म्याद थप गरेर कारोबार अलि सम्हालिएपछि कर्जा तिर्न छुट दिनुपर्ने अवस्था रहेको उनले बताए । ‘व्यवसायीहरु अप्ठेरोमा परेका बेला बैंकले सहयोग गर्नुपर्छ’ उनले भने, ‘कहिले काहीँ (व्यवसाय) डुब्नै लाग्यो भने थप ऋण दिएर त्यसलाई उठाउने र आफ्नो पुरानो ऋणसमेत अशुल गर्ने बाटो लिनु पर्छ ।’

ऋणी अप्ठेरोमा परेका बेला उसले धितोमा राखेको बिकाउ जग्गा वा सम्पत्ती लिलामी गरिदिने केही बैंकको अभ्यासको उनले विरोध गरेका छन् । ‘बैंकले निर्मम साहुजी वा मिटरब्याजी तरिकाले होइन, विकासका लागि सहयोगी र अनुकुल सत्ताको रुपमा काम गर्नुपर्छ’, उनले भने ।

नेपालमा ऋण लिनेहरु धेरै भएका कारण अहिले नेपाली बैंकले ऋणीको महत्व नबुझेको आरोप ओलीले लगाए । त्यसै कारण बैंक र ऋणीबीचको सम्बन्धलाई तनावपूर्ण हिसाबले होइन, सुमधुर रुपमा विकास गर्नु आवस्यक रहेको उनले बताए । ‘सरकार, लगानीकर्ता (रोजगारदाता) र मजदुरहरु तीन पक्षबीचको सम्बादबाट जसरी आईएलओ (अन्तरराष्ट्रिय श्रम संगठन)का सिद्धान्तले सहमति निकाल्छ,’ उनले भने, ‘बैक, निक्षेपकर्ता र ऋणीबीचको सम्बन्ध पनि त्यस्तै हुनु पर्छ ।’

आफूहरुले ट्रेडयुनियन र मजदूर कार्यक्रमहरुमा आईएलओका सिद्धान्तहरुको अधिकतम कार्यान्वयन गरिरहेको र वित्तीय क्षेत्रले पनि त्यस अभ्यासबाट सिक्नुपर्ने उनले बताए । उनले भने, ‘बैंकले के बुझ्नु पर्छ भने, निक्षेपकर्ताहरु र ऋण लिएर बैंक चलाइदिनेहरु नै बैंकका आधार हुन् ।’

प्रतिक्रिया दिनुहोस्