भारतबाट धान ल्याउने योजना अन्योलमा
काठमाडौं,मंसिर २९। भारतबाट १० लाख मेट्रिक टन धान ल्याउने सरकारी योजना अझसम्म अन्योलमै छ । १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गर्दै नेपालले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई गत साउन १९ मा पत्र लेखेको थियो । नयाँ दिल्लीले हालसम्म त्यसको भरपर्दो जवाफ नदिँदा भन्सार छूटमा भारतबाट धान आयात गर्ने सरकारको योजना अन्योलमै रहेको हो ।
यस वर्ष रोपाइँको समयमा कम वर्षा भएका कारण धानको आन्तरिक उत्पादनमा कमी आई खाद्यसंकट हुन सक्ने आकलन गर्दै सरकारले समयमै जोहो गर्न खोजे पनि हालसम्म सफल हुन सकेको छैन । भारत सरकारसँग पटकपटक उच्चस्तरीय कूटनीतिक छलफल भए पनि ठोस टुंगोमा पुग्न नसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । भारतले अहिलेसम्म ९५ हजार टन चामल दिने कुरामा मात्रै सहमति जनाएको छ । तर, धान र चिनी दिने कुरा टुंगिएको छैन ।
अब नयाँ धानको सिजन पनि शुरू भएको छ । ‘तर, कृषि मन्त्रालयले अहिलेसम्म यस वर्ष मुलुकमा कति धान उत्पादन भयो र कति अपुग हुन्छ भन्ने तथ्यांक निकालेको छैन । मन्त्रालयबाट उत्पादनको तथ्यांक आएपछि मात्रै कति परिमाणमा धान आयात गर्नुपर्ने हो यकीन गर्न सक्छौं,’ उनले आर्थिक अभियानसँग भने, ‘अब मन्त्रालयले केही दिनमै तथ्यांक निकाल्छ र हामीलाई मात्रा यकीन गर्न सहज हुन्छ । भारतमा पनि यस वर्ष कम वर्षाका कारण धान उत्पादन घट्ने देखिएकाले हामीले मागे जति नआउन सक्छ ।’
भारतले अहिले दिने भनेको ९५ हजार टन चामल आयात गर्ने जिम्मा सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले पाएका छन् । यी दुई कम्पनीले कति आयात गर्ने भन्ने टुंगो नलागे पनि भण्डारण र बजेट अभावका कारण सबै चामल ल्याउन नसक्ने हुँदा उनीहरूले ल्याउन नसकेको चामल निजीक्षेत्रले ल्याउन सक्ने ठाकुरले बताए ।
भन्सार छूटमा धान आयात गर्न व्यवसायीको माग
अहिले नेपालमा करीब ३ महीनालाई मात्रै पुग्ने धान मौज्दात भएको भन्दै व्यवसायीले खाद्यसंकटको जोखिम आउन नदिन यथाशीघ्र भन्सार छूटमा १० लाख टन आयातको वातावरण मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल चामल तेल दाल उद्योग संघले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर यस्तो माग गरेका हुन् ।
नेपालमा मसिनो धानको उत्पादन कम हुने तर भात खान बढी जसो मसिनो चामल प्रयोग भएकोले वर्षभरका लागि कम्तीमा १० लाख टन धान अपुग हुने संघका अध्यक्ष कुमुदकुमार दुगडले बताए ।
सरकारले भारतसँग धान माग गरेको लामो समय बितिसकेकाले भोलिको दिनमा नेपालमा चामलको मूल्य बढ्न गई उपभोक्तालाई प्रत्यक्ष असर पर्न सक्ने उनले बताए । मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
भारत सरकारले धान निकासीमा प्रतिबन्धका अतिरिक्त २० प्रतिशत भन्सार महशुल लगाएको छ । यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । गतवर्षको तुलनामा यस वर्ष धानको मूल्य सिजनमै प्रतिकिलो १० रुपैयाँ बढिसकेको र आगामी दिनमा अझै बढ्ने अनुमान छ । भारतबाट २० प्रतिशत भन्सार महशुल तिरेर धान आयात गर्दा प्रतिकिलो ५० रुपैयाँ पर्ने र भन्सार छूटमा आयात गर्दा प्रतिकिलो ४२ रुपैयाँ पर्ने बताइन्छ । यसो हुँदा धानको मूल्य प्रतिकिलो ८ रुपैयाँ र चामलको मूल्यमा १६ रुपैयाँ फरक पर्ने चामल उद्योगी बताउँछन् । मूल्यमा धेरै फरकले गर्दा भन्सार छलेर ल्याइने धान र चामलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने हुँदा चामल मिलमा लागेको अर्बौं स्वदेशी लगानी जोखिममा पर्न सक्ने उद्योगीको चिन्ता छ ।