भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
काठमाडौं,पुस १३ ।भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “आइतबार अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले सोमबार तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकता अनुसार नै हामीले रकम पठाएका हौँ ।”
यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए । उनका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको यो रकम पहिलो हो । कात्तिक २७ को मन्त्रीपरिषद्को निर्णयले १० अर्ब रुपियाँ पठाउने निर्णय गरेको थियो । सोही अन्तर्गत अर्थ मन्त्रालयले एक अर्ब रुपियाँ भूकम्पपीडितका लागि निकासा गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुमपश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताए । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपियाँ पठाएको थियो ।

