नुवाकोटको दुप्चेश्वरमा दर्शनार्थीको भीड, मेलाको सीसीक्यामेराबाट निगरानी



नुवाकोट,पुस ९। धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । 

आइतबारदेखि लागेको मेलाको मुख्य दिन आज सोमबार साँझ र मंगलबार पूर्णिमाको बिहानी प्रहरसम्म पूजाआराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य वृद्धि भएको हो । विशेषत: एकादशीदेखि नै शुरु हुने दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ।

राउतबेंसीका स्थानीयवासी बासे तामाङ को गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले वाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएका छन् । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने , बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । 

धार्मिक ग्रन्थ अनुसार भने समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती छ । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ भने मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्रो मुख्य आकर्षक रहदै आएको छ । 

यस वर्ष पनि सीसीक्यामेराबाट दर्शनार्थीको निगरानी

दुप्चेश्वर गाउँपालिका–६ समुन्द्राटारमा अवस्थित मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहानसम्म लाग्ने गर्दछ । दुप्चेश्वर गाउँपालिकाले यस वर्ष मन्दिर तथा भौतिक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं मेला प्रचारप्रसार समितिको सदस्य राजकुमार श्रेष्ठले बताए ।

जस अन्तर्गत धारा, बत्ती र १८ वटा सीसीक्यामेरा समेत जडान गरिएको समितिका श्रेष्ठले बताए। सीसीक्यामरा जडानसंगै आपराधिक क्रियाकलाप कम हुने र घटना पहिचान गर्न सहज हुने उनको दावी छ ।

यसैबीच अहिले तादी गाउँपालिकाको भ्याङ्ले सम्म सवारीसाधन जाममा फसेको छ । देशका विभिन्न क्षेत्रबाट आउने श्रद्धालु भक्तजनको भीडका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको प्रहरीले जनाएको छ । दुप्चेश्वरको रामतीबाट झण्डै ५ किलोमीटर क्षेत्र ट्राफिक जाममा फसेको बताइएको छ।

हस्तकला सामग्री बेचबिखनमा कमी

दुप्चेश्वर मेलामा आकर्षकको रूपमा पाइने हस्तकला सामग्री बेचबिखनमा भने कमि आउने भएको छ। राष्ट्रिय निकुञ्जले धुपीजन्य बोटविरुवा कटानीमा प्रतिबन्ध गरेसंगै यसको बिक्रीवितरणमा समेत कमि आएको छ ।

मन्दिर परिसरका सम्पूर्ण क्षेत्र सीसीक्यामराको निगरानी गरिदै
श्रद्धालु भक्तजन लाइनबाट दर्शनको तयारीमा

मन्दिर परिसरमा गरिएको धारोपानीको व्यवस्थापन

प्रतिक्रिया दिनुहोस्