आजदेखि मातातीर्थ र फाखेल–फर्पिङ सडक २ महिना बन्द



हेटौंडा,पुस १६ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड आज सोमबारबाट दुई महिनाका लागि बन्द भएको छ ।

कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ ।

यातायातका साधनका लागि हेटौंडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए । उनका अनुसार आजबिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौंडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन् ।

वैकल्पिक सडकका रुपमा काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौंडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्