रुसी सेनामा भर्ती भएका पाँच जना सम्पर्कविहीन



तनहुँ,पुस १६ । रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका छन् । 

परिवारजनले जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका हुन् । व्यास नगरपालिकाको वडा १, ४, १३, भानु नगरपालिका –१ र देवघाट गाउँपालिका –३ का गरी पाँच जनाले स्वदेश फिर्ता गरिदिन निवेदन दिएको केन्द्रकी परामर्शदाता गोमा तिवारीले जानकारी दिए । 

एक महिना अघिदेखि घरपरिवारसँग सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको तिवारीले जानकारी दिए । निवदेनमा एजेन्टमार्फत पाँच लाखदेखि ६ लाख रुपियाँ तिरेर भिजिट भिसामार्फत गएर रुसी सेनामा भर्ती भएको उनले जानकारी दिए ।  सम्पर्कविहीन भएपछि खोजी गरिदिन कार्यालयमा आएको तिवारीले जानकारी दिए । 

आफ्नो दाइ एक महिना अघिदेखि सम्र्पकमा नआउँदा परिवारजन चिन्तामा डुबेको व्यास नगरपालिका –१ की महिलाले बताइन । नाम बताउन नचाहेकी उनले दाइ बेरोजगार भएपछि धन कमाउँछु भनेर रुसी सेनामा भर्ना हुन गएको र त्यसका लागि ६ लाख खर्च गरेको बताइन।

भिडियो फोनमा भएको कुराकानी क्रममा दाइले तालिम पछि लडाइ भएको क्षेत्रमा जानुपर्ने भएकाले त्यस अवधिभरि कुराकानी हुन नसक्ने बताएको उनले जानकारी दिइन । उनले भनिन, “कार्यक्षेत्रमा मोबाइल फोन प्रयोग गर्न नदिने त्यसैले चिन्ता नलिन र धन कमाएर घर फर्किने बताएका थिए । त्यसयता दाइसँग सम्पर्क हुन सकेको छैन ।’’ 

केन्द्रका परामर्शदाता हर्षित गुरुङ तनहुँमा थुप्रै व्यक्ति रुसी सेनामा भर्ती भएको हुनसक्ने बताए । नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिन डराएको थोरै सङ्ख्यामा मात्र निवेदन आएको अनुमान गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्