गोविन्द वियोगी पुरस्कारबाट नुवाकोटका पत्रकार सापकोटा सम्मानित
नुवाकोट,माघ ६ । यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट नुवाकोटका पत्रकार शरण उत्सुक सापकोटा सम्मानित भएका छन् ।
शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सापकोटालाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
सम्पादक समाजले बरिष्ठ उद्योगी स्व मोहनगोपाल खेतानको सहयोगमा स्थापना गरेको उक्त पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ ।
नुवाकोटको शिवपुरी ७ स्थित सुईरेचौरमा आयोजना गरेको वियोगी पत्रकारिता पुरस्कार एवं सम्मान समारोहमा पत्रकार सापकोटासंगै वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, ‘योहो’ टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी र पत्रकार मन्टेश्वरी राजभण्डारी सम्मानित भएका थिए ।

