वैदेशिक व्यापार खुम्चिने क्रम रोकिएन: आयात र निर्यात दुवै घट्यो, ७ अर्बको व्यापार घाटा



काठमाडौं,माघ ७ । नेपालको वैदेशिक व्यापारमा अझै सुधार आउन सकिरहेको छैन । आर्थिक गतिविधि बढ्न नसक्दा आयात र निर्यात दुवैको व्यापारमा संकुचन देखिएको छ ।

भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को व्यापार तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा आयात ३.०९ प्रतिशतले घटेको छ निर्यात ७.२३ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ४९ करोड ९७ लाख रुपैयाँले कमी हो ।

यता, ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । गत वर्षको तुलनामा यो वर्ष ५ अर्ब ८३ करोड ९३ लाख रुपैयाँले निर्यात घटेको हो । यसरी नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै घटेको छ ।

६ महिनाको अवधिमा कुल ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । आयात भन्दा निर्यात कम हुँदा व्यापार घाटामा भने ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । तर, गत आवको पुस मसान्तसम्मको तुलनामा भने सामान्य (२.६२ प्रतिशत) कमी हो ।

प्रतिक्रिया दिनुहोस्