सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको स्थायी राजधानी निर्माणमा चासो दिन सांसद गराए ध्यानाकर्षण



सुदूरपश्चिम,माघ १० । सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले प्रदेशको स्थायी राजधानी निर्माणलगायत विषयमा चासो दिन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।  

प्रदेशसभा सदस्यले सरकारले अनुदान रोक्दा बन्द हुन लागेको बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्थापन गरी नियमित सञ्चालन गर्न, कतिपय मानव बस्तीमा जङ्गली हात्तीले पुर्‍याइरहेको धनजनको क्षति रोकथाममा पहल गर्न, बाढीपहिरो पीडितका लागि उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराए ।
 
सांसदले भूक्षयको रोकथाममा पहल गर्न, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिन, आगलागी पीडितलाई राहत दिन, भूकम्पले क्षति पुर्‍याएका विद्यालयलगायतका संरचनाको पुनःनिर्माणमा ध्यान दिन पनि ध्यानाकर्षण गराए ।  
 
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जानकीदेवी ऐर बम, प्रकाश बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, शिवसिंह ओली, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा सार्कीले आ–आफ्नो धारणा राखेका थिए । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सभा समक्ष टेबुल गरे । प्रदेशसभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ । प्रदेशसभाको तेस्रो अधिवेशन यही माघ ५ गते शुरु भएको थियो ।

प्रदेशसभाको दोस्रो कार्यकाल शुरु भएको गत पुसमा एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कुनै कानुन बन्न सकेका छैनन् । 

प्रदेश सरकारको २०७५ असोज १२ गतेको बैठकले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको वन फाँडेर स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । तर, निर्णय गरेको ५ वर्ष बित्दा पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । संसदले तेघरीमा राजधानी बनाउन वन क्षेत्रमा भोगाधिकार प्राप्तिका लागि २०७५ माघ २० गते नै संघीय सरकारलाई पत्राचार गरिएको थियो । तर, प्रदेशले हालसम्म भोगाधिकार पाउन सकेको छैन । 

संसदले तेघरीमा राजधानी बनाउन वन क्षेत्रमा भोगाधिकार प्राप्तिका लागि २०७५ माघ २० गते नै संघीय सरकारलाई पत्राचार गरिएको थियो । तर, प्रदेशले हालसम्म भोगाधिकार पाउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्