नुवाकोट महोत्सवमा आउनेलाई तातो दुध र उसिनेको अण्डा निशुल्क
नुवाकोट,माघ १२ । यही माघ २६ गते देखि फाल्गुण ७ गतेसम्म जिल्ला सदरमुकाम विदुरमा हुने आठौं नुवाकोट महोत्सवमा आउने नवआगन्तुकलाई निशुल्क तातो दुध र उसिनेको अण्डाले स्वागत गरिने भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा कृषि प्रदर्शनी समितिका संयोजक दिनेशकुमार श्रेष्ठले महोत्सवमा आउनेलाई तीन दिनसम्म निशुल्क तातो दुध र उसिनेको अण्डाले स्वागत गर्ने बताएका हुन् ।
सञ्चारमाध्यमसंग कुरा गर्दै संयोजक श्रेष्ठले औधोगिक प्रर्दशनीको लागि २५० वटा स्टल र स्थानीय उत्पादन तथा कृषि प्रर्दशनीको लागि ५० वटा स्टल निर्माण भैरहेको बताउदै १२ वटै स्थानीय तह, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान केन्द्र, जिल्ला कृषि सहकारी संघ लगायत अन्य निकायहरुसँग समन्वय गरिसकिएको बताए ।
त्यस्तै ट्राउट माछा, स्ट्रवेरी मुला, बदाम, सुन्तला, किबि, आलु तथा अन्य उत्पादनलाई बजारीकरण गर्न महोत्सवले ईलम प्रशिक्षण केन्द्रमा हाटबजार सञ्चालन गरी बिक्री केन्द्रनै स्थापना गर्ने जनाएको छ ।
नाचगानमै लाखौं खर्चिएको आरोप लाग्दै आएको महोत्सवले यस वर्ष भने कृषि तथा स्थानीय उत्पादनको प्रर्दशनी तथा बिक्रि, घरेलु हस्तकला सामाग्रीको प्रर्दशनी, विभिन्न साँस्कृतिक भेषभुषा तथा झाँकी प्रर्दशनी, औद्योगिक प्रर्दशनी, विभिन्न खानाका परिकार रमाईलो खेल तथा मनोरञ्जन, लाखे नाच तथा विभिन्न साँस्कृतिक प्रतियोगीता समेत गर्ने जनाएको छ ।

