उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा कानुनी अड्चन हट्यो: वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत
गलकोट,माघ १४ । बहुप्रतिक्षित उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ ।
नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना वातावरणीय प्रभाव मुल्यांकन्(इआइए) स्वीकृत भएको छ । इआइए स्वीकृत भएसँगै अब आयोजनाको काम अघि बढ्ने देखिएको छ । आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानुनीरुपमा संरक्षित क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकनविना आयोजना अघि बढ्दैन ।
जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन्रिपोर्ट आयोजनाले २०७६ सालमा ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागमा पेस गरेको चार वर्षपछि स्वीकृति पाएको छ । वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतभएसँगै ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र पर्ने आयोजनामा काम गर्नका लागि सरकारले स्वीकृति प्रदान गरेको आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए ।
“कानुनी अड्चन पूरा भएको छ, ठूलो आयोजना तत्कालै बन्दैन, वातावरणीय प्रभाव मुल्यांकन स्विकृत हुनु भनेको उक्त आयोजना बन्नका लागि सरकारले स्वीकृति दिनु हो”, झाले भने, “विसं २०७६ मा बुझाएको वातावरणीय प्रभाव मुल्यांकन्अहिले आएर स्वीकृत भएको छ, यो आयोजना नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षभित्र पर्ने भएकाले कानुनी जटिलता धेरै थियो, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुनु भनेको सिकार आरक्षभित्र काम गर्न सरकारले अनुमति दिनु हो ।”
आयोजना अब बजेट सुनिश्चततासँगै निर्माणमा जानसक्ने उनको भनाइ छ । आयोजनाको प्रारम्भिक अध्ययन भए पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्न सकेको छैन । डिपिआरका लागि सम्झौता गरेको कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ कम्पनीलाई डिपिआरको जिम्मा दिने तयारी आयोजनाको छ । वातावरण संरक्षण नियमावलीअनुसार उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न वातावरणीय प्रभावका हिसाबले उचित ठहर भएको पाइएको छ ।
आयोजनाले उत्पादन लाइसेन्सका लागिसमेत विद्युत् विकास विभागमा निवेदन दिइसकेको छ । अब आयोजनका लागि आवश्यक जग्गा अधिकरण गर्ने तयारी थालिनेछ । आयोजना सम्पन्नका लागि रु डेढ खर्ब रकम आवश्यक भएकाले रकम सुनिश्चितता अर्को महत्वपूर्ण काम आयोजनाका लागि आवश्यक रहने झाले बताए।
आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि चल्दै आएको छ । झाकाअनुसार आयोजनाले उत्तरगंगा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको छ । उक्त बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदी उपत्यकामा बाँध बाँधेर हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ ।
हिउँद र बर्खामा ८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगंगा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ । विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य छ ।
विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण शुरू गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भने ४ वर्षअघि मात्रै सम्पन्न भएको थियो । उक्त रिपोर्ट अहिले स्वीकृत भएपछि आयोजना निर्माण हुनेमा जनतामा आशा पलाएको छ । ढोरपाटनको उत्तरगंगा नदीमा २ सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई शुरूङमार्ग हुँदै १ हजार ६३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ । रासस

