मौसम: चिसो अझै बढ्ने



काठमाडौं,माघ १४ । अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।

गत वर्षको तुलनामा यो वर्ष यस अङ्कमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ । 

फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ । 

अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् झाले बताए । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ । जस अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५.३ डिग्री सेल्सियसभन्दा तल पुग्दै छ । त्यस्तै जोमसोममा माइनस ५.५ डिग्री पुगेको छ । नौ हजार मिटरमाथिको उच्च हिमाली भेगको पश्चिमी हिमाली भेगमा न्यूनतम तापक्रम माइनस ४१ डिग्री पुगेको छ । त्यस्तै मध्य क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४३ डिग्री र पूर्वी क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४५ डिग्रीमा झरेको छ । 

उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छ । जसका कारण वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छ । तराईका धेरै जिल्लामा केही दिनयता शून्य पारदर्शिता रेकर्ड भएको छ । मौसमविद् झाका अनुसार पारदर्शिता वायुमण्डलमा एक सय मिटरभन्दा तल झरेपछि त्यो शून्य पारदर्शितामा गनिन्छ । 

तराईमा शून्य पारदर्शिता

लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा शून्य पारदर्शिता रेकर्ड भएको हो । यो भनेको मानिसको आँखाले पनि धेरै परसम्म धान्न नसक्ने पारदर्शिता हो । शीतलहर सिमसिमे वर्षा भए जस्तैको अवस्थामा रहेकाले ठिहिराउने चिसोको मारमा तराईका बासिन्दा परेका छन् । 

भैरहवा र सिमराको पारदर्शिता शनिबार दिउँसो केही सुधार भएको देखिएको छ तर रात पर्दै जाँदा फेरि त्यो मेटिने गरेको छ । नेपालगन्ज, धनगढी, विराटनगरलगायत अन्यत्रको पारदर्शितामा सुधार आउन सकेको छैन । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेकाले जनजीवन सहज बनाउन आवश्यक पहल गर्न सुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्