कुचो बनाइने अम्रिसोबाट ६ महीनामा भित्रियो साढे ५९ करोड, भारत–बंगलादेशमा निर्यात



काठमाडौं,माघ २९ । नेपालबाट पछिल्लो ६ महीनामा साढे ५९ करोड रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । मुख्यगरी कुचो बनाउन प्रयोग हुने अम्रिसो नेपालबाट भारत, बंगलादेशलगायत एशियाली देशमा निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्ष (आव)को ६ महीनामा नेपालले ५९ करोड ६४ लाख ८५ हजार रुपैयाँ बराबरको ५० लाख ८२ हजार १६० किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको छ । गत आवको सोही अवधिमा नेपालले २९ करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरको ५३ लाख ७२ हजार २१० किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको थियो ।

चालू आवमा गत आवको सोही अवधिको तुलनामा निर्यात मूल्य १०४ प्रतिशतले बढेको छ भने निर्यात परिमाण भने ५ प्रतिशतले घटेको छ । 

जाडो मौसममा अम्रिसोको माग कम हुनाले निर्यात परिमाण घटेको नेपाल कुचो संघका उपाध्यक्ष रविन्द्र खड्काले बताए । अहिले अम्रिसोको माग कम भए पनि वैशाखदेखि बढ्ने र त्यसपछि निर्यात परिमाण पनि बढ्ने उनको भनाइ छ । ‘हाम्रो उत्पादनको बजार भारत नै हो । बंगलादेशमा निर्यात गर्दा ३५ देखि ४० प्रतिशतसम्म कर लाग्ने भएर अहिले त्यहाँ निर्यात हुन सकेको छैन,’ उनले भने । 

अम्रिसो नेपालको मध्य तथा पूर्वी भेगमा बढी मात्रामा पाइन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा कृषकको आम्दानीको मुख्य स्रोतमध्ये अम्रिसो पनि एक हो । 

अम्रिसोबाट नेपालमा बनाइएको कुचो देशका विभिन्न शहरसँगै भारत र बंगलादेशमा समेत निकासी गर्दै आएको अम्रिसो व्यवसायी बताउँछन् ।

अहिले अम्रिसो प्रतिकिलो मूल्य ८० देखि १०० रुपैयाँसम्म पर्छ । १ किलो अम्रिसोले २ ओटासम्म कुचो बनाउन सकिन्छ । तयारी कुचो प्रतिगोटा सयदेखि १ सय २० देखि १५० रुपैयाँसम्म विक्री हुन्छ । उनका अनुसार नेपालमा उत्पादन भएको अम्रिसो ९० प्रतिशत भारतमा निर्यात हुने गरेको छ ।

अम्रिसो एकपटक रोपेपछि खासै मलजल गर्नु नपर्ने, एउटै बोटले १५ देखि २० वर्षसम्म उत्पादन दिने र यसको हेरचाह तथा स्याहारसुसारमा खासै खर्च गर्नु नपर्ने भएकाले किसान यसको खेतीतर्फ आकर्षित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्