तीन वर्षभित्र काठमाडौं–तराई मधेस द्रुतमार्ग पूरा हुन्छ : उपप्रधानमन्त्री खड्का



काठमाडौं,फागुन १९ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे । 

आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए ।

प्रक्रिया पुर्याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे । प्रमुख जिल्ला अधिकारीमार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ ।

नेपाली सेनाको कल्याणकारी कोषमार्फत हेटौंडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए । उनले यसबारेमा आवश्यक निर्णय नभएकाले अहिले नै यस्तो हुन्छ भन्ने ठाउँमा नपुगेको उल्लेख गरे । 

सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा उनले आपत्ति प्रकट गरे । ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्प्रेषण गरेर मात्र विकास हुने होइन । यी निकायमा समस्या नै छैन भन्ने मेरो जिकिर पनि होइन । यी संस्था हामी नागरिकको साझा सम्पत्ति हुन् । ती निकायमा रहेको कमीकमजोरी सुधार गर्न नागरिकको रचनात्मक भूमिका जरुरी हुन्छ,’ उपप्रधानमन्त्री खड्काले भने । 

सरकारले ‘सैनिक ऐन, २०६३’ लाई संशोधन गरेर समयानुकूल बनाउन लागिपरेको उपप्रधानमन्त्री खड्काले जानकारी दिए । सरोकारवालासँग आवश्यक छलफल गरी संशोधन मस्यौदा अगाडि बढाइएको भन्दै सङ्घीय संसद्को चालु अधिवेशनको संसद्मा उक्त ऐन पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा क्रियाशील रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले उल्लेख गरे । सांसदहरू भैरवसुन्दर श्रेष्ठ दिलकुमारी रावल थापा अनिता देवकोटा, गोमादेवी तिमिल्सिना, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, कमला पन्त, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरेले उपप्रधानमन्त्री खड्कालाई पूरक प्रश्न गरेका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्