चितवनमा डेंगु देखिन थाल्यो



काठमाडौं,चैत १० । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २९५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । चैत महिनामा चितवन जिल्लामा थप १६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ ।  

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ४९९ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालु आवको हालसम्म  काठमाडौँमा तीन हजार‚ चितवनमा एकहजार ६६९‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ७८४‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई/दुई जना‚ काभ्रेपलाञ्चोक र मकवानपुरका एक/एक जनासहित ६ जना सङ्क्रमितको मृत्यु थियो ।

मन्त्रालयका अनुसार चालु आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैत ९ गतेसम्म १६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयको तथ्याङ्क अनुसार साउन‚ भदौ‚ असोज र कार्तिक महिनामा बढेको डेंगु जाडोयाम सुरु भएसँगै घट्दै गएको छ ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एसिड लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न‚ सुत्दा झुलको प्रयोग गर्न‚ लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न‚ ट्याङ्की र कुलहरू कम्तीमा हप्तामा एक पटक सरसफाइ‚ वरपर पानी जम्न नदिने‚ पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्