महिनामै बढ्यो सुनको मूल्य तोलामा सत्र हजार



काठमाडौं,चैत २४ । बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

फागुन महिनामा उतारचढाव रहेको सुनको मूल्य चैत महिना सुरु भएदेखि निरन्तर बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मुद्रास्फीतिका कारणले सुनको मूल्य एक्कासि बढ्न गएको जानकारी दिए । “अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा सुनको मूल्य घट्नुपर्ने भए पनि लगातार मूल्य बढ्दै गयो,” उनले भने, “विश्व बजारमा केन्द्रीय बैङ्कहरूले क्रयशक्ति बचाउन सुनको रिजर्भ बढाएका कारणले गर्दा पनि मूल्य बढ्न गएको देखिन्छ ।” सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि लगानीकर्ता आकर्षित भई लगानी बढाउँदै गएपछि मूल्य निरन्तर बढ्दै गएको उनको भनाइ छ । छिमेकी मुलुक भारत र चीनले समेत सुनको खरिद बढाउँदै गएको उनको भनाइ छ । एक महिनाअघिदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ, अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको मूल्य अझै बढेर एक लाख ५० हजार रुपियाँसम्म पुग्ने अनुमान शाक्यको छ । 

बिहीबार भने सुनको मूल्य एक हजार तीन सयले घटेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार रुपियाँमा कारोबार भएको बिहीबार घटेर एक लाख ३२ हजार सात सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ३०२ डलर पुगेको छ । डेढ महिनादेखि लगातार सुनको मूल्य बढेपछि स्थानीय बजारमा कारोबार ठप्प रहेको छ । लगनको सिजन नभएको र मूल्य निरन्तरण बढेकाले पनि कारोबार न्यून रहेको व्यवसायीको भनाइ छ । महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले सुनको कारोबार घटेर २० देखि २५ प्रतिशतमा झरेको जानकारी दिए । हाल दैनिक पाँचदेखि १० किलोसम्म मात्र सुन बिक्री हुने गरेको उनको भनाइ छ । कारोबार नहुँदा अधिकांश सुन पसलमा सुनको मौज्दात रहेको छ । नेपाल बैङ्कर सङ्घका अनुसार अहिले बैङ्कमा १ सय १७ किलो सुन मौज्दात छ । बैङ्कमा सुन थन्किएपछि बैङ्कले आफैँ पनि सुन आयात गरिरहेका छैनन् । लामो समय बैङ्कमा थुप्रिँदा बिमा, भाउ उतारचढावको जोखिम रहन्छ । बैङ्कमै सुन हुँदा होल्डिङ चार्ज बढ्दै जान्छ । बिमा पनि हुन्छ । मूल्य बढ्दा जोखिम पनि बैङ्कले नै बेहोर्नु पर्छ । त्यही भएर पनि बैङ्कले आयात बन्द गरेका हुन् । 

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि बढाइन्छ । मूल्य बढेकै कारण लगनको सिजनमा सुनको कारोबारमा प्रत्यक्ष असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले भनाइ छ  ।

पुराना गहना बिक्री बढे

लगातार सुनको मूल्य बढेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना किन्ने ग्राहक बढी आउने गरेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार क्रयशक्ति न्यून हुँदा घरव्यवहार चलाउनका लागि पुराना गहना बिक्री गर्न आउने ग्राहकहरू दिनप्रतिदिन बढ्दै गएका छन् । नयाँ गहना खरिद गर्नेले पुराना बिक्री गर्ने र पैसा थपेर लाने गरेका छन् । न्युरोडका सुनचाँदी पसलमा कारोबार सामान्य भए पनि अन्य ठाउँका पसल सुनसान रहेका छन् । खर्बौं रुपियाँको कारोबार हुने सुनचाँदी क्षेत्रमा आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव परेको छ । व्यापार नहुँदा ससाना सुन पसल बन्द भएको र कतिपय व्यवसायीहरू वैदेशिक रोजगारीमा गएको शाक्यले जानकारी दिए । 

सुनको आयात ५१ प्रतिशतले घट्यो 

चालु आर्थिक वर्षको आठ महिनामा (साउन–फागुन) सुनको आयात ५१ प्रतिशतले घटेको छ । स्थानीय बजारमा माग न्यून हुँदा आयातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार १७ अर्ब ५७ करोड ८३ लाख रुपियाँ बराबरको सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ३५ अर्ब ८६ करोड १४ लाख ९७ हजार रुपियाँको सुन आयात भएको थियो । सुनको आयात कम हुँदा राजस्व सङ्कलनमा समेत उलेख्य कमी आएको छ ।   

 

प्रतिक्रिया दिनुहोस्