वाञ्छित सीमा भित्रै बजार महँगी, यो वर्षकै न्यून बिन्दुमा मूल्य वृद्धिदर 



काठमाडौं,चैत २६ । बजार महँगी निरन्तर घट्दै गएको देखिएको छ । उपभोक्तामा आधारित मुद्रास्फीति यो वर्षकै न्यून बिन्दुमा आएको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष आठ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । फागुनसम्म आइपुग्दा बजार महँगी ४.८२ प्रतिशत कायम भएको छ । जुन यो वर्षकै न्यून हो । यसअघि गत भदौमा ८.१९ प्रतिशतसम्म पुगेको बजार महँगी अहिले नियन्त्रण भएको आँकडाले देखाएको छ ।

विशेषगरि गत कात्तिकदेखि नै बजार महँगी दर निरन्तर घट्दै गएको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा ५.३८ प्रतिशत, मंसिरमा ४.९५ प्रतिशत, पुसमा ५.२६ प्रतिशत, माघमा ५.०१ प्रतिशत रहेको थियो । एकै महिनामै अर्थात् माघको तुलनामा ०.१९ प्रतिशत बिन्दुले महँगी घटेको राष्ट्र बैंकले जनाएको छ । फागुनमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर खाद्य तथा सेवाको ३.९५ प्रतिशत छ । चालु आवको पहिलो महिना (साउन) मा पनि मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षको साउनमा ८.२६ प्रतिशत, भदौमा ८.६१ प्रतिशत, असोजमा ८.५० प्रतिशत, कात्तिकमा ८.०८ प्रतिशत, मंसिरमा ७.३८ प्रतिशत रहेको थियो । यस्तै, गत वर्षकै पुसमा ७.२६ प्रतिशत, माघमा ७.८८ प्रतिशत र फागुनमा ७.४४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

फागुन मसान्तसम्मको तथ्याङ्कले भने नेपालको मूल्यवृद्धिदर नियन्त्रणमै रहेको पुष्टिि गरेको छ । सरकारले चालु आर्थिक वर्षमा बजार महँगी साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्यअनुसार नै महँगी नियन्त्रण भएको देखिन्छ । आयातमा केही सङ्कुचन देखिएता पनि रेमिट्यान्स ह्वात्तै बढेको छ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । चालु खाता बचतमा छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमै छ । अर्को तर्फ विदेशी विनिमय सञ्चितिमा बढेको नै छ । यसले पनि बजार महँगी नियन्त्रण गरेको बताइन्छ ।

विशेषगरि अन्तर्राष्ट्रिय बजारमौ उपभोग्य वस्तुको मुद्रास्फीति घटेकाले नै नेपालमा पनि नियन्त्रण भएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तुको मुद्रास्फीति करिब १० प्रतिशत घटेको छ । यता, भारतमा ९ प्रतिशत बिन्दुले घटेको छ । यसले नेपलालको पनि मुद्रास्फीति कम देखिएको हो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत बढेको छ । यस्तै, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ ।

तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।

फागुन महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्