एक वर्षमा तोलामा २८ हजारभन्दा बढीले सुनको भाउ वृद्धि, किन बढिरहेको छ भाउ ?



काठमाडौं,बैशाख १ । पछिल्लो एक वर्षमा सुनको भाउ तोलामा २८ हजार २०० रुपैयाँले बढेको छ । २०८० सालको वैशाख १ गते १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य वर्षको अन्तिम दिन (चैत ३० गते) १ लाख ३९ हजार रूपैयाँ कायम भएको छ । 

चैतमा मात्रै सुनको भाउ तोलामा १३ हजार २०० रुपैयाँले बढेको छ । चैत १ गते पहेंलो धातुको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ थियो । चैतमा सुनको भाउ बढेको मात्रै छैन, ११ पटक मूल्यमा रेकर्ड कायम पनि भइसकेको छ । 

पछिल्लो ६ वर्षमा यसको भाउ तोलामा ८० हजार ५०० रुपैयाँले बढिसकेको छ । ६ वर्षअघि २०७५ वैशाख १ मा सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत वर्षयता भने सुनको भाउ तोलाको लाखमाथि रहँदै आएको छ ।

किन बढिरहेको छ भाउ ?

नेपालमा सुनको मूल्य घटबढ हुनुमा आन्तरिक कारण मात्रै नभइ अन्तरराष्ट्रिय कारणले पनि प्रभाव पार्ने गरेको व्यवसायी बताउँछन् । यसमा भूराजनीति, ट्रेड लगायत कारण रहेको उनीहरूको भनाइ छ । 

अन्तरराष्ट्रिय बजारमा डलरको विश्वसनियता घट्नु, बैंकहरूको ब्याजदरमा कमी, रसिया-युक्रेन युद्ध, इजरायल-प्यालेस्टाइन युद्ध लगायत कारणले सुनको मूल्य बढिरहेको व्यवसायी बताउँछन् । 

निरन्तरको मूल्यवृद्धिले कारोबार घट्यो ! 

पछिल्लो समय सुनको भाउमा निरन्तरको मूल्यवृद्धिले कारोबार घटेको व्यवसायीको गुनासो छ । सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनार पछिल्लो समय सुनको बजार शून्यजस्तै रहेको बताउँछन् । चैतमा लगन पनि नहुँदा सुनको कारोवारमा कमी हुने गरेको र त्यसमा पनि निरन्तर बढेको मूल्यका कारण बजार शून्य भएको उनको भनाइ छ । ‘पछिल्लो समय सुनको मूल्य यसरी बढ्यो की सिजनमा पनि नेपालीले सुन किन्न सक्ने क्षमता नै भएन,’ उनले भने । 

दैनिक कति खपत हुन्छ सुन ?

नेपाल राष्ट्र बैंकले सुनको कोटा दैनिक १० केजी निर्धारण गरेको छ । तर, सामान्य समयमा पनि दैनिक २० किलो सुन खपत हुने गरेको व्यवसायीहरूको दाबी छ । सिजनका बेला भने दैनिक ४० केजीसम्म खपत हुने गरेको उनीहरू बताउँछन् । 

यो वर्षको सुन आयातको तथ्यांक हेर्दा दैनिक करीब ८ किलोको हाराहारीमा पहेलो धातु भित्रिएको देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ८ महीनामा १ हजार ९०१ किलो सुन आयात भएको देखिन्छ । यसआधारमा औसतमा दैनिक सुन आयात ७.९२ किलो हुन आउँछ । 

गत आर्थिक वर्षमा भएको सुन आयातको तथ्यांकले पनि दैनिक ८ किलोको हाराहारीमा पहेंलो धातु भित्रिएको देखाउँछ । सो आर्थिक वर्षमा २ हजार ९१७ किलो सुन आयात भएको थियो । यसआधारमा औसतमा दैनिक सुन आयात ७.९९ किलो हुन आउँछ । 

मागभन्दा कोटा कम हुँदा पनि बजारमा किन भएन अभाव ? 

बजार मागको तुलनामा राष्ट्र बैंकले तोकेको कोटा कम भएको व्यवसायीहरूले दाबी गरे पनि नेपाली बजारमा सुनको अभाव भने देखिँदैन । 

बजार मागको तुलनामा राष्ट्र बैंकले तोकेको कोटा कम हुँदा पनि किन सुन अभाव छैन ? आर्थिक अभियानको उक्त प्रश्नमा सुनचाँदी व्यवसायी महासंघका एक पदाधिकारी भन्छन्( सुनको मूल्यमा भएको बढोत्तरी र अन्य व्यवसायमा आएको कमीले उपभोक्ताले पुरानो सुन विक्री गरिरहेका छन्, जसका कारण बजारमा पुरानो सुन आपूर्ति बढ्दा अभाव नभएको हो । 

कुन वर्ष कति आयात ?

भन्सार विभागको तथ्यांकअनुसार आव २०७४/७५ मा ७ हजार २३२ किलो सुन आयात भएको थियो । अर्को वर्ष उक्त परिणाम बढेर ७ हजार ४९३ किलो पुगेको थियो । 

आव २०७६/७७ मा भने सुन आयात परिणाम घटेर २ हजार ४०० किलो पुगे पनि आव २०७७/२०७८ मा ३ हजार ९२५ किलो पहेंलो धातु भित्रिएको थियो । यस्तै आव २०७८/७९ मा ५ हजार ५३ किलो सुन आयात भएको थियो ।

विभागको तथ्यांकअनुसार पछिल्लो ६ वर्ष ८ महीनामा १ खर्ब ८१ अर्ब २६ करोडभन्दा बढीको सुन आयात भएको छ । उक्त अवधिमा ३० हजार ९२१ किलो सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ । 

सुनको लगानीमा आकर्षण !

सुन व्यवसायीका अनुसार लगानीको सुरक्षित क्षेत्रहरूमा शेयर बजार, घरजग्गा र धातु पर्छन् । त्यसमा सबैभन्दा सुरक्षित सुनलाई मानिएको छ । 

पछिल्लो समय लगानीका अन्य क्षेत्रमा मन्दी देखिँदा लगानीकर्ता सुनमा आकर्षित भएको व्यवसायी बताउँछन् । अमेरीकी डलर कमजोर हुनु, चीन, भारत, रूसजस्ता देशले सुनमार्फत भुक्तानी गर्नुलगायत कारणले व्यवसायीहरू यसतर्फ आकर्षित भएको व्यवसायीहरूको भनाइ छ । यही कारण डिजिटल करेन्सीमा हुने लगानीसमेत पछिल्लो पटक सुनतर्फ आएको हुनसक्ने उनीहरूको अनुमान छ । 

संसारभर लगानीको सुरक्षित क्षेत्र सुनलाई नै मानिन्छ । एक देशको मुद्रा अन्य कुनै देशमा नचले पनि सुनलाई भने जुनसुकै देशले पनि स्वीकार छन् । यही कारण सुनमा आकर्षण बढ्ने गरेको छ । 

विदेशमा शेयरमा जस्तै काचो सुनमा लगानी गर्ने गरिन्छ । जसका कारण सुनको भाउ बढ्दा त्यहाँका व्यवसायीले मनग्गै नाफा कमाउँछन् । 

नेपालमा भने त्यस्तो लगानी गर्न पाइँदैन । नेपालमा धार्मिक तथा सांस्कृतिक कार्यका लागि मात्रै सुन प्रयोग गरिन्छ । जसका कारण विदेशीको तुलनामा नेपाली व्यवसायीले सुनको भाउ बढ्दा त्यही अनुसारको फाइदा लिन सकेका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस्